Logo

सुलभ अग्रवालविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भने बुधबार हुने

सुलभ अग्रवालविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भने बुधबार हुने



काठमाडौं । कालोबजारी आरोपमा पक्राउ परेर हिरासतमा रहेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

आइतबार महानगरिय प्रहरी परिसरले अग्रवालमाथिको आरोपको बिषयमा अनुसन्धान गरेर मिसिल वकिल कार्यालयमा बुझाएको थियो । उक्त मिसिलमाथि आवश्यक अनुसन्धान गरेर आज मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

लकडाउनको बेलामा ज्वरो नाप्ने थर्मल गन महंगोमा बिक्री गर्दै गर्दा अग्रवाल गत चैतमा पक्राउ परेका थिए । उनलाई महानगरिय अपराध महाशाखाको बिशेष टोलीले ग्राहक बनेर पक्राउ गरेको थियो । प्रशासनले उनलाई हिरासतमा राख्न दिएको म्याद आज सकिएपछि मुद्धा दर्ता गरिएको हो ।

प्रहरीले उनीमाथि चार कसुरमा मुद्दा चलाउन जिल्ला वकिल कार्यालयलाई सिफारिस गरेको छ र अग्रवाल विरुद्ध कालोबजारी, सार्वजनिक पद दुरुपयोग, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

जगदम्बा सिमेन्टलगायत विभिन्न उद्योगका मालिक अग्रवाल नेपालका लागि किर्गीस्निका अवैतानिक महावाणिज्य दूत पनि हुन् । यसैले उनलाई सार्वजनिक पद दुरुपयोगको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको हो ।

प्रहरीले उनीबाट ६७ थान थर्मल गन सहित रंगेहात प्रक्राउ गरेको थियो । अग्रवालले बजारमा ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजारसम्ममा बिक्री गरिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो । उनीविरुद्धको मुद्दाको थुनछेक बहस भने बुधबार हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL