Logo

लकडाउनबारे निर्णय लिन २ बजे मन्त्रिपरिषद बैठक बस्दै, कति दिन थपिएला लकडाउन ?

लकडाउनबारे निर्णय लिन २ बजे मन्त्रिपरिषद बैठक बस्दै, कति दिन थपिएला लकडाउन ?



काठमाडौं । मन्त्रीपरिषदको बैठक आज अपरान्ह २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान गरिएको छ । उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक साताका लागि लकडाउन थप्न सरकारलाई सुझाव दिएको थियो ।

सरकारले ११ चैतदेखि सुरु गरेर पटक पटक थप्दै आएको लकडाउन भोलि सोमबार सकिदैछ । शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन बारे मन्त्रिपरिषदले निर्णय गर्ने भन्दै त्यसको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ ।

मोडालिटी बनाउने जिम्मेवारी पाएको मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले बनाएको प्रस्तावमाथि मन्त्रिपरिषदमा छलफल गरिने जनाइएको छ । कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन् । समितिको बैठकमा केही क्षेत्रमा खुकुलो बनाउने कि भन्नेबारे छलफल भएपनि ठोस निर्णय लिइएको छैन ।

समितिको बैठकले लकडाउनका कारण संक्रमण रोक्न प्रभावकारी काम भएको निष्कर्ष निकालेको छ । उता, छिमेकी मुलुक भारतले भने कृषि क्षेत्र, विकास निर्माणसहितका केही काममा लकडाउन खुकुलो बनाइसकेको छ । उसले पसलहरु पनि खोल्न सक्ने निर्णय गर्दै त्यसका लागि अनिवार्य मास्क लाउन र भौतिक दूरी कायम गर्न भने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL