Logo

नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमबाट हटायो, लकडाउन छिट्टै अन्त्य हुने आशा पलायो

नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमबाट हटायो, लकडाउन छिट्टै अन्त्य हुने आशा पलायो



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभर कोरोनाभाइरसको त्रास अझै बढ्ने बताइरहँदा नेपाललाई चाहिँ अलिक राहत मिलेको छ । डब्लुएचओले यसअघि नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा राखेको थियो । तर, अब यो हट्दै नेपाल एक स्टेप तल झरेको छ ।

नेपालले कोरोनाभाइरस संक्रमण रोकथामका लागि राम्रो भूमिका खेलेको भन्दै डब्लुएचओले यो निर्णय गरेको हो । सबैभन्दा पहिले गत डिसेम्बरको अन्त्यमा चीनमा मानिसमा कोरोनाभाइरस देखिँदा विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको बताएको थियो । चीनसँग नेपालको सम्पर्क बलियो भएको त्यो समयमा यसलाई सामान्य मानिएको थियो ।

तर, नेपालमा चीनबाट आएका एक युवामा मात्र कोरोनाभाइरस संक्रमण देखियो । उनी पनि निकै छिटो निको भएर घर फर्किएका थिए । यही कारणले पनि नेपाललाई डब्लुएचओले थप जोखिम हुनसक्ने सम्भावनामा राखेको थियो । त्यसमाथि भारतसँग खुला सिमाना भएकाले पनि नेपालमा जोखिमको स्तर निकै बढेको थियो ।

तर, सरकारले लिएका कदमले नेपालमा कोरोनाभाइरस अरु देशमा जस्तो फैलिन पाएन । डब्लुएचओले यस कार्यको पनि प्रशंसा गरेको छ । समयमा नै लकडाउन गरेर, सीमा नाकाहरु बन्द गरेर नेपालले कोरोना रोकथामका लागि प्रभावकारी भूमिका खेलेको डब्लुएचओले जनाएको छ । अर्कोतिर नेपालमा परीक्षणको दायरा पनि बढाइएको डब्लुएचओले प्रशंसा गरेको छ ।

उच्च जोखिमको सूचीबाट हटे पनि नेपाल अझै जोखिमको सूचीमा चाहिँ रहेको छ । नेपालमा अहिलेसम्म ४९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये १२ जना त निको भएर घर फर्किइसकेका छन् । नेपालमा निको हुनेमा ८१ वर्षकी महिलादेखि १९ वर्षका किशोरीसमेत छन् । कोरोनाभाइरसको यो महामारीबीच सबैभन्दा खुसीको कुरा के भने नेपालमा यसका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन ।

नेपालमा अहिले पनि ८७ जना आइसोलेसनमा छन् । उनीहरुमा कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने आशंकामा आइसोलेसनमा राखिएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यीमध्ये ३ जना अहिले काठमाडौंमा आइसोलेसनमा छन् । अन्य ८४ जना काठमाडौंबाहिर छन् ।

नेपालमा लकडाउन भएको ३१ दिन भइसक्दा पनि क्वारेन्टाइनमा बस्नेको पनि कमी छैन । शनिबार साँझसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमा सबैभन्दा धेरै प्रदेश ५ मा छन् । त्यहाँ ७ हजार ९ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् । र, सबैभन्दा थोरै बागमती प्रदेशमा १ सय ३१ जनामात्र क्वारेन्टाइनमा रहेका छन् । डब्लुएचओको यो कदमसँगै नेपालमा लकडाउन छिट्टै हटने आशा पलाएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL