Logo

कोरोना संक्रमित उपचार पछि घर पर्कनेको संख्या ११ पुग्यो, बागलुङकी १९ वर्षीया युवती २८ दिन पछि घर फिर्ता

कोरोना संक्रमित उपचार पछि घर पर्कनेको संख्या ११ पुग्यो, बागलुङकी १९ वर्षीया युवती २८ दिन पछि घर फिर्ता



काठमाडौं । कोरोना भाईरस संक्रमित भएर उपचार पछि घर फर्कनेको संख्या ११ पुगेको छ । बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएर घर पर्केसँगै कोरोना संक्रमित उपचार पछि घर फर्कनेको संख्या ११ पुगेको हो ।

धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत १९ वर्षीया सापकोटा शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्केकी हुन । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिएका छन । प्रमुख चिकित्सक पोखरेलले भने, ‘उनको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ ।’

अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताएकी छिन । ‘म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’, ‘उनले भनिन, ‘अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।’

बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस संक्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्केकी हुन । उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की संक्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकी छिन ।

पौडेलमा गत चैत १५ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो संक्रमित हुन भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो संक्रमित हुन । दुवै संक्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ ।

प्रतिक्रिया दिनुहोस्