Logo

‘लकडाउन’को आज ३३ औ दिन : सरकारले लकडाउनका विषयमा आज निर्णय गर्दै, कति दिन लम्बिएला लकडाउन ?

‘लकडाउन’को आज ३३ औ दिन : सरकारले लकडाउनका विषयमा आज निर्णय गर्दै, कति दिन लम्बिएला लकडाउन ?



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज ३३ औं दिन हो । ३३ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ ।

एक महिना बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको थियो ।

यसैबीच सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । तेस्रोपटक थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड(१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ । झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या थप बढिरहेको छ । संक्रमित थपिएसँगै संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो समय संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये १० जना निको भएर घर फर्किएसँगै केही आशा पनि जागेको छ । अर्थतन्त्र चलायमान बनाउन जोखिमको आधारमा केही क्षेत्रमा खुकुलो बनाउने तयारी अर्थ मन्त्रालयले गरिरहेको बताइएको छ । यसमा नेपाल राष्ट्र बैकले कमिटी गठन गरेर सुझाव संकलनसमेत गरिरहेको छ ।

तर, बिहीबारमात्रै मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले छिमेकी मुलुकमा संक्रमणको स्थिति हेरेर मात्र लकडाउन हटाइने वा थप बढाउने बताएका छन् । भारतमा बढ्दो संक्रमणसँगै नेपालमा लकडाउनको समय थपिने निश्चित जस्तै बनेको छ । लकडाउन लामो समयसम्म रहँदा कारणका सर्वसाधारणलाई समस्या भएको छ ।

संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत चैत ११ गतेदेखि लकडाउन निरन्तर चलिरहेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् ।
लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ ।

त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् ।

सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुक्त ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL