Logo

आज पाँचौँ भूकम्प स्मृति दिवस : नीजि आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति, पाँच लाख गुनासो सम्बोधन

आज पाँचौँ भूकम्प स्मृति दिवस : नीजि आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति, पाँच लाख गुनासो सम्बोधन



काठमाडौं । आज पाँचौँ भूकम्प स्मृति दिवस हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ठूलोमात्र धनजनको क्षति भएको थियो । तत्कालीन समयमा भएको क्षतिपछि नेपालले अहिलेसम्म पुनः निर्माणका लागि काम गरिरहेको छ ।

पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । पुनःनिर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको र थप एक लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनःनिर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत प्रगति भएको जनाएको हो ।

प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या पाँच लाख ६१ हजार ६५० अर्थात् ७२ प्रतिशत पुगेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै नेपालको पुनःनिर्माण र पुनःस्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव र सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेकोे बताए ।

हाल कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि बन्दाबन्दी जारी रहेको उल्लेख गर्दै त्यसले गर्दा पुनःनिर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । निजी आवास पुनःनिर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४९२ अर्थात् २० प्रतिशत विद्यालय पुनःनिर्माणको चरणमा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । १४१ सम्पदा पुनःनिर्माणको क्रममा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० सम्पदामध्ये १०१ अर्थात् ५९ प्रतिशत सम्पन्न भएका छन् । बाँकी ५४ अर्थात ३२ प्रतिशत पुनःनिर्माणको क्रममा छन् ।

कूल एक हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ स्वास्थ्य संस्थाको पुनःनिर्माण सकिएको छ । एक सय ४५ पुनःनिर्माणको चरणमा छन् । सम्पन्न भएका र पुनःनिर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ । कूल ४१५ सरकारी भवनमध्ये ३४९ अर्थात् ८४ प्रतिशत सरकारी भवनको पुनःनिर्माण सम्पन्न भइसकेको छ । ४९ पुनःनिर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन् । सुरक्षा निकायका १९४ संरचनाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने २२ पुनःनिर्माणको चरणमा छन् । भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये चार हजार २०४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ४३ एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने नौ एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ । २७ वटाको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) स्वीकृत भइ निर्माणाधीन छन् । कूल ७९ वटा एकीकृत बस्ती पुनःनिर्माणको प्रक्रियामा छन् । विभिन्न जिल्लामा ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ४४३ किमी सडकको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा छ । खानेपानी विभागमार्फत एक हजार खानेपानी योजना सम्पन्न भएका छन् भने १०० खानेपानी योजना कार्यान्वयनका चरणमा छन् ।

पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट रु तीन खर्ब नौ अर्ब र गैरसरकारी संस्थामार्फत रु ७२ अर्ब गरी रु तीन खर्ब ८१ अर्ब खर्च भएको छ । प्राधिकरणले साढे वर्षका बीचमा राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएको नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकालीन अवस्था, तीन तहका सरकारको निर्वाचनमा केन्द्रित हुनुपरेको अवस्था, कर्मचारी समायोजनजस्ता समस्या तथा चुनौती सामना गर्दै पुनःनिर्माण र पुनःस्थापनामा उपलब्धि हासिल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL