Logo

कोरोना भाईरस हामीसँग लामो समयसम्म रहने डब्लुएचओको चेतावनी, अझै सचेत हुनुपर्ने

कोरोना भाईरस हामीसँग लामो समयसम्म रहने डब्लुएचओको चेतावनी, अझै सचेत हुनुपर्ने



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेसले कोरोना भाइरस हामीसँग लामो समय रहने बताएका छन् । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाकार महामारी हामीसँग लामो समय रहने भन्दै उनले यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् ।

अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा डा टेड्रोसले पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहे पनि धेरै राष्ट्रहरुमा यो शुरुवाती चरणमा रहेको बताए।

‘महामारीको शुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुनः संक्रमितको संख्या बढ्दो छ,’ उनले भने, ‘गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ । यो भाइरस हामीसँग लामो समय रहने छ ।’

उनले भने, ‘लकडाउन र सामाजिक दूरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ । तर, भाइरस अझै पनि खतराको रुपमा कायम छ । संक्रमण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापरवाह हुनसक्ने हो ।’

डा टेड्रोसले विश्व स्वास्थ्य संगठनले महामारीविरुद्ध गरिरहेको कारवाहीको पनि बचाऊ गरे । उनले समयमा नै कोभिड–१९ को बारे विश्वलाई चेतावनी दिएको दाबी गरे ।

विश्वका धेरै राष्ट्रका सरकारहरुले डब्लूएचओले गरिरहेको कामका लागि प्रशंसा गरे पनि अमेरिकाबाट राजीनामाका लागि ठूलो दबाब आइरहेको छ । यसबारे प्रश्न गर्दा उनले आफू मानिसको ज्यान बचाउन दिन र रात काम गरिरहने बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL