Logo

नेपालमा आमाको मृत्यु हुँदा पनि भारतको धार्चुलाको क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्ट बल्ल आए नेपाल, आजै घर पुग्ने

नेपालमा आमाको मृत्यु हुँदा पनि भारतको धार्चुलाको क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्ट बल्ल आए नेपाल, आजै घर पुग्ने



बिजखबर संवाददाता

काठमाडौं । कोरोना संक्रमणका कारण नाका बन्द हुँदा आमाको मृत्युमा पनि सदगत गर्न घर आउन नपाएका दार्जुलाका बासुदेव भट्टका लागि सरकारले आज (आइतबार) बल्ल नेपाल आउन दिएको छ ।

भारतको धार्चुलास्थित बलुवाकोटस्थित शिविरको क्वारेन्टिनमै कोरामा बसेका भट्टलाई आइतबार नेपाल आउन दिइएको हो । घरमा आमाको निधन भए पनि लकडाउनका कारण गरिएको नेपाल भारत सीमा सरकारले नखोलिदिँदा उनी धार्चुलाको शिविरमै किरिया बस्न बाध्य भएका थिए ।

दार्चुला शैल्यशिखर नगरपालिका–१ का उनको आमाको गत मंगलबार साँझ हृदयाघातका कारण निधन भएको थियो । तर सर्वत्रको दबाब, आलोचना र आग्रहपछि सरकारले भट्टलाई ६ दिनपछि आफ्नो घर आउन दिइएको हो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंह कुँवरले आाइतबार २ बजेतिर भट्टलाई नेपाल ल्याएका हुन् ।

गत फागुनमा मजदुरी गर्न भारत पुगेका भट्ट लकडाउनका कारण सीमासम्म आइपुगेर पनि नेपाल आउन पाएका थिएनन् । भट्टलाई कोरोनाको र्यापिड परीक्षणपछि प्रहरीले नै घर पुर्याइदिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्