Logo

बागलुङकी कोरोना संक्रमित महिलाको उत्साह, जित्दैछिन् कोरोनाविरुद्धको लडाईँ

बागलुङकी कोरोना संक्रमित महिलाको उत्साह, जित्दैछिन् कोरोनाविरुद्धको लडाईँ



काठमाडौं । ‘बाबुलाई नि धन्यवाद छ, आमाको’, उनले कुराकानीको बिट त्यही मारे । लाग्यो, उनी अस्पतालको श्ययाबाट बोल्दै छिन । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो ।

‘जाती नै छु बा, स्वास्थ्य ठिक छ’, पहिलो जवाफमै उनी दृढ सुनिन, ‘रोग जित्न आत्मबल चाहिने रहेछ ।’ कोभिड–१९ बाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला उनी चाँडै अस्पतालबाट घर फर्कनेमा निश्चिन्त छिन । बिहीबार तेस्रोपटक जाँच्दा उनको कोरोना नेगेटिभ देखिएको थियो । चौँथो रिपोर्ट पनि नेगेटिभ आए अस्पताल बसाइ टुङ्गिनेछ । ‘अस्पताल आएको आज १७ दिन भयो, फेरि जाँच्ने भनेर चिकित्सले स्वाब लगेको छ । उनले भनिन, ‘अबको रिपोर्ट पनि नेगेटिभ आए हजुरलाई घर पठाउँछौँ भन्नुभएको छ ।’

धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनको अवस्था सामान्य छ । चिकित्सकका अनुसार पुरानै उच्च रक्तचाप र दमको औषधि नियमित दिइएको छ । ‘दाँत किराले खाएको भएर प्रेसर केही बढेजस्तो भयो, बीचमा अलिअलि कान दुख्यो, अहिले त एकदम ठिक छु’ उनले भनिन् ।

उनमा कोभिड–१९ को लक्षण न पहिले देखियो न अहिले छ । ‘दम शुरु भएको १५÷१६ वर्षअघि हो, पुरानो समस्याबाहेक अरु मलाई केही छैन’, उनले भनिन, ‘कोरोना लागेपछि पनि मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो ।’ अहिले पनि उस्तै इच्छाशक्ति छ । ‘मन बलियो बनाउने र खानपानमा ख्याल गर्ने हो भने रोगसँग लड्न सकिन्छ’, उनले भनिन, ‘पानी धेरै पिउनुपर्ने रहेछ, अहिले पनि दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउँछु ।’

पहिले अझ धेरै पानी पिउने गरेको र शरीर गलेजस्तो भएपछि मात्रा केही घटाएको उनको भनाइ छ । उनले अहिले दैनिक बिहान, बेलुका दूध पिउने गरेकी छिन । नियमित खाना, खाजाको प्रबन्ध अस्पतालले नै मिलाएको छ । ‘खाना, खाजा लिएर नर्स नानीहरु आउनुहुन्छ, चिकित्सकहरु पनि बेलाबेला आउनुहुन्छ, फोन गरेर पनि सोध्नुहुन्छ’, उनले भनिन, ‘सबै कुरा राम्रो छ, आफ्नै ठाउँको अस्पतालमा बस्न पाइएको छ, सबैले सम्झनुभएको छ, बोल्न पाएकी छु ।’

आइसोलेसन कक्षमा बस्दा मोबाइलमा गीत सुनेर, ‘भिडियो’ हेरेर समय बिताउने गरेको उनको भनाई छ । बरु, आफूसँगै बेल्जियमबाट आएकी अर्की संक्रमित युवतीको चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएपछि उनलाई ननिको लागेको छ । ‘उनी पनि मसँगै आएकी नानी हुन, उनमा पनि नेगेटिभ देखिए कति खुशी हुने थिएँ, जे भए पनि सँगै आइयो, अहिले एउटै अस्पतालमा छौँ’, उनले भने । सोही नगरपालिका–४ की १९ वर्षीया युवती पनि अहिले आइसोलेसनमा उपचाररत रहेकी छिन ।

संक्रमित दुवै जना बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । युवतीमा चैत १५ र महिलामा चैत २० गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । युवतीको पनि स्वास्थ्य अवस्था सामान्य छ । दुवै जना परिवार र आफन्त भेट्न बेल्जियम पुगेका थिए । ‘घरबाट फागुन १३ गते हिँडे, काठमाडौँबाट १४ गते उडियो, त्यही राति नै बेल्जियम पुगेँ’, उनले सुनाईन, ‘कान्छी छोरीले बोलाएर एक महिनालाई घुम्न गएकी थिएँ ।’ युवती भने बुबाआमा भेट्न गत माघमै बेल्जियम पुगेकि थिईन ।

बेलिज्यममा महिलाकी कान्छी छोरी, ज्वाइँ र नातिनातिना बस्छन् । कोरोना संक्रमणको विश्वव्यापी सन्त्रासबीच उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल फर्केकी थिईन । घर फर्केपछि पनि सबै ठिकठाकै थियो । कोरोना संक्रमणको न कुनै आशङ्का थियो । ‘घरमा श्रीमान्को श्राद्ध पनि थियो, घरमै बसेँ, नुहाउने, धुने आफैँ गरेँ’, ति महिलाले भनिन, ‘सँगै आएकी नानीलाई कोरोना लागेको थाहा पाएपछि मेरो पनि जाँच भयो, रिपोर्ट पोजेटिभ आयो ।’ फ्रान्सबाट दोहा हुँदै आएकी काठमाडौँकी युवतीमा कोरोना देखिएपछि सोही विमानमा फर्किएकी बागलुङकी युवतीमा पनि कोरोना जाँच्दा संक्रमण पुष्टि भएको थियो ।

बागलुङकी १९ वर्षीया युवती नेपालकै पाँचौँ र ६५ वर्षीया महिला छैटौँ संक्रमित हुन । महिलाको घरमा दुई छोरा, बुहारी, नातिनातिनालगायत छन् । जेठी छोरी पनि बागलुङमै छिन । उनलाई रिपोर्ट नेगेटिभ आएको पहिलो खबर बिहीबार साँझ छोरीले नै सुनाएकी थिईन ‘रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरुले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ काटेर बसेकी छु’, । घर फर्कन र परिवारका सदस्यलाई भेट्न उनी व्यग्र प्रतिक्षामा छिन ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कुनै औषधिबिनै संक्रमित महिला कोरोना भाइरससँग लडिरहेको बताए । ‘कोरोनाको कुनै लक्षण पनि देखिएको छैन, उनको उच्च रक्तचाप र दमको पुरानै समस्या भएकाले विशेष निगरानी भने गरिरहेका छौँ’, उनले भने । प्रमुख चिकित्सक पोखरेलका अनुसार चौथो जाँचका लागि महिलाको स्वाब शुक्रबार पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । कहिलेकाहीँ रिपोर्ट ढिलो आउँछ, दोहोर्याएर पनि जाँच्नुपर्ने हुनुसक्ने उनले जानकारी दिए ।

चौथो जाँचको रिपोर्ट पनि नेगेटिभ आए महिलालाई ‘डिस्चार्ज’ गर्ने अस्पतालको तयारी छ । लगातार दुईपटक जाँच्दा कोरोना भाइरस नेगेटिभ देखिएमा मात्र संक्रमितलाई घर पठाउन मिल्ने चिकित्सक बताउँछन् । पछिल्लोपटक गरिएको जाँचमा नेगेटिभ रिर्पोट आएपछि उपचारमा संलग्न चिकित्सकसमेत उत्साहित छन्/रासस

प्रतिक्रिया दिनुहोस्