Logo

कोरोनाबारे जनचेतना फैलाउने डाक्टरमाथि स्वास्थ्य मन्त्रालयको तरबार, डाक्टर पुनलाई कारबाही गर्ने तयारी

कोरोनाबारे जनचेतना फैलाउने डाक्टरमाथि स्वास्थ्य मन्त्रालयको तरबार, डाक्टर पुनलाई कारबाही गर्ने तयारी



काठमाडौं । कोरोना संक्रमणबारे जनचेताना फैलाउन भूमिका खेलिरहेका डाक्टरमाथि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाही थालेको छ । विभिन्न माधयममार्फत जनमानसम्म जनचेतना फैलाउने काम गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि मन्त्रालयले कारबाही गर्नेगरी पत्र पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको बताइएको छ । सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पुष्टि गरे । पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको खतिवडाले बताए ।

स्रोतका अनुसार टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट रहेका छन् । तर, डाक्टर पुनले भने आफूले कोरोनाभाइरसबारे सत्यतथ्य कुराहरु प्रकाशमा ल्याएर जनचेतना फैलाएको बताएका छन् ।

आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही नरहेको बताए । आफूलाई जानकारी भएको विषय सञ्चारमाध्यममार्फत र अन्य माध्यममार्फत लगातार प्रकाशमा ल्याएर जनचेतना फैलाउँदै आएकोमा आफ्नो नाममा पत्र आएको सुनेको बताउँदै उनले मन्त्रालयलाई उचित जवाफ दिने बताए । स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्