Logo

भारतबाट मालसान ढुवानी गर्दा बढ्यो कोरोना संक्रमणको जोखिम, चालक र सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

भारतबाट मालसान ढुवानी गर्दा बढ्यो कोरोना संक्रमणको जोखिम, चालक र सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग



काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् ।

कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ । उनले भने, ‘भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ । यस्तो अवस्थामा नेपाली जनतालाई यसको संक्रमणबाट सुरक्षित राख्न नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकलाई अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्दछ ।’ अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित संक्रमणको न्यूनीकरणका लागि पनि उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएकाले भारतबाट भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालबाट पनि संक्रमण फैलिन सक्ने उच्च सम्भवना रहेको छ’, विराटनगरस्थित रौनक फार्मेसीका सञ्चालक श्याम श्रेष्ठले भने, ‘संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि त्यस्ता चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने व्यवस्था लागू हुनुपर्दछ ।’ उनले ‘भीडभाडमा जीउ जोगाउनु र अनिकालमा बीउ बचाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्