Logo

तीनवटा निजी संस्थाले पाए २९ करोडको स्वास्थ्य उपकरण खरिदको जिम्मेवारी, दुई साताभित्रै सामान आइपुग्ने

तीनवटा निजी संस्थाले पाए २९ करोडको स्वास्थ्य उपकरण खरिदको जिम्मेवारी, दुई साताभित्रै सामान आइपुग्ने


बिजखबर संवाददाता
351
Shares

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक विभिन्न स्वास्थ्य उपकरण खरिद गर्न स्वास्थ्य सेवा विभागले सम्झौता गरेको छ । विभागले निजी तीनवटा संस्थासँग २९ करोड मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता गरेको हो । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तत्काल चाहिने स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको हो ।

विभागले बिहीबार ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो मेडी कन्सर्न नामक निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागले चैत २५ गते टेण्डर आह्वान गर्दै तत्काल आवश्यक केही स्वास्थ्य उपकरणहरु खरिद गर्न लागेको थियो ।

विभागले ५ दिन अर्थात् चैत २० गतेसम्मको समय दिएर टेण्डर भर्न आह्वान गरेको थियो । आइतबार टेण्डरको समय सकिएको भए पनि विभागले बिहीबार मात्रै तीनवटा संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको हो ।

विभागले कोरोना संक्रमणका बिरामीको उपचारमा संलग्नका लागि आवश्यक पीपीई, पञ्जा, चस्मा, सुज कभर, फेस कभर लगायतका तत्काल आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न लागेको हो ।

बढीमा दुई साता अर्थात् वैशाख १८ गतेभित्र नै सम्पूर्ण स्वास्थ्य उपकरण उपलब्ध गराइसक्ने गरी विभागले सम्झौता गरेको छ । शुक्रबार मात्रै पनि विभिन्न स्वास्थ्य उपकरणहरु नेपाल आएको छ । तर उक्त स्वास्थ्य उपकरण नेपाल सरकारलाई दिने स्वास्थ्य उपकरण छ कि छैन भनेर जानकारी नआएको विभागले जनाएको छ ।

यसअघि मन्त्रीपरिषद् बैठकले स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले त्यसअघि ओम्नी समूहसँग गरिएको खरिद सम्झौता विवादमा आई भङ्ग भएलगत्तै सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य उपकरण खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्