Logo

इटालीबाट फर्केकी बुढानिलकण्ठकी महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ, पिसीआर परीक्षणका लागि टेकु पठाइयो

इटालीबाट फर्केकी बुढानिलकण्ठकी महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ, पिसीआर परीक्षणका लागि टेकु पठाइयो



काठमाडौं । राजधानीमा फेरि नयाँ कोरोना संक्रमण देखिएको छ । इटालीबाट फर्केकी बुढानिलकण्ठ–९ की ३१ वर्षीया महिलामा टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो । बुधबार र्यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए।

महिलाले आफू २८ दिन अगाडि इटालीबाट आएको बताएकी छिन्। उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ। र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठायौं,’ मेयर खरेलले भने।

महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन् । उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्। उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए।

त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ। बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी थिइन्। मेयर खरेलले पिसिआर परीक्षणको नतिजा आएपछि मात्र के गर्ने भन्ने टुंगो लाग्ने बताए।

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।

त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ। शरीरमा एन्टिबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ। यसअघि राजधानीमै ३ जनामा र्यापिड टेष्ट पोजेटिभ देखिए पनि पिसिआर टेष्टमा भने दुईजनामा मात्र पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्