Logo

कोरोना उपचारमा सरकारको सफलता, सोमबार २ जना संक्रमित टेकु अस्पतालबाट डिस्चार्ज हुँदै

कोरोना उपचारमा सरकारको सफलता, सोमबार २ जना संक्रमित टेकु अस्पतालबाट डिस्चार्ज हुँदै



काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोरोना भाइरस (कोभिड–१९) का दुई संक्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन । कोभिड–१९ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिएका छन ।

उनले भने, ‘अस्पतालमा उपचारको क्रममा रहेका कोभिड संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।’ टेकु अस्पतालमा अहिले कोभिड शंकास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको बताए । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य संख्यामा बिरामी नआएको उनको भनाइ छ । ‘अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ’, निर्देशक डा. राभण्डारीले भने ।

यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिए । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टिन कक्ष छन । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । ‘अक्सिजन प्लान्ट’सहितको सघन उपचारकक्ष तयार गरिँदैछ ।

अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन, विद्युतका लागि ‘पावर ब्याकअप’ तयार गरेको अस्पतालले जानकारी दिएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको संक्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन । यसअघि नेपालमा पहिलोपटक कोभिडको संक्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको संक्रमण देखापरेको थियो ।

चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । यस्तै चैत २० गते बागलुङकी ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड संक्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिडको संक्रमण नदेखिएको र संक्रमितको अवस्था पनि सामान्य रहेको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । मन्त्रालयको तथ्यांकअनुसार हालसम्ममा ३ हजार ५२४ व्यक्तिको कोरोना संक्रमणको नमूना परीक्षण गरिएको छ । हिजो मात्रै ६३० परीक्षण गरिएको थियो । ८ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि ८ हजार ६६० जना क्वारेन्टिनमा छन । आइसोलेसनमा रहेका व्यक्तिको संख्या १२५ रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टिनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) सामग्री प्रदान गरिएको बताएका छन । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई र्यापिड डाइग्नोस्टिक टेष्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको उनले बताएका थिए/रासस

प्रतिक्रिया दिनुहोस्
Skip This