Logo

लकडाउनले स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस, ६० हजार बोतल स्यानिटाइजर गोदाममै थन्कियो

लकडाउनले स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस, ६० हजार बोतल स्यानिटाइजर गोदाममै थन्कियो



काठमाडौं । सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई ६० हजार बोतल स्यानिटाइजर बजारमा लैजान सकस भएको छ । कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पुर्याउन नसकेको हो ।

नेपाल पूर्णरुपमा लकडाउन भए पछि उत्पादन गरेका ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको छ । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर काठमाडौँसम्म सीमित भएको छ । उपत्यका बाहिरबाट माग दिनहुँ आइरहे पनि कसरी पुर्याउने भन्नेमा लिमिटेडलाई अन्योल भएको छ । ‘माग आएको आयै छ, कसरी पुर्याउने भन्ने समस्या छ’, लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले भने, ‘उपत्यका बाहिर ढुवानी गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित छलफल भइरहेको छ ।’

हाल लिमिटेडले एक सय मिलीलिटरको बोतल दैनिक २० हजारसम्ममा उत्पादन गरिरहेको छ । लिमिटेडको दैनिक ५० हजार बोतल उत्पादन गर्न सक्ने क्षमता छ । लिमिटेडले विभिन्न उद्योगसित अल्कोहल खरिद गरी स्यानिटाइजर उत्पादन गर्ने गरेको छ । ‘दैनिक १० हजारदेखि १२ हजार बोतल खपत भइरहेको छ’, बज्राचार्यले भने, ‘धेरै उत्पादन गर्यो भने पनि उपभोक्तासम्म पुर्याउनै सकिन्न ।’ स्यानिटाइजर हाल्न १०० मिलीलिटर अटाउने बोतल मात्र काठामाडौँमा उत्पादन हुन्छ । यो भन्दा बढी अटाउने बोतल यहाँ उत्पादन हुँदैन । ठूलो बोतल सबै भारतबाट मगाउनुपर्ने हुन्छ ।

‘लकडाउनका कारण ठूलो बोतल भारतबाट ढुवानी गर्न सकेका छैनौं’, निमित्त महाप्रबन्धक बज्राचार्यले भने, ‘भारतबाट बोतल आयात गर्न मन्त्रालयले पहल गरीदिए सजिलो हुन्थ्यो ।’ लिमिटेडको हारगुहारपछि सानो बोतल उत्पादन गर्न काठमाडौँका उद्योग तयार भएका हुन् । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने स्थितिलाई ख्याल गर्दै लिमिटेडले चैत ११ गतेदेखि स्यानिटाइजर उत्पादन थालेको हो । आपतकालीन अवस्थाको ख्याल गर्दै लिमिटेडले उत्पादन थालेको बज्राचार्यले जानकारी दिएका हुन ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी लिमिटेडले ८२ कर्मचारीमध्ये एकतिहाइ मात्र स्यानिटाइजर उत्पादनमा खटाएको छ । चितवन, हेटौँडा, पोखरालगायत क्षेत्रबाट दैनिक स्यानिटाइजरको माग भइरहेको लिमिटेडका स्टोर प्रमुख दिनेश भट्टराईले जानकारी दिएका छन । ‘माग भएजति दिन सक्छौँ, त्यहीअनुसार उत्पादन पनि गर्न सकिन्छ, तर मुख्य समस्या कसरी पुर्याउने भन्ने हो’, उनले भने, ‘दिनुहँ स्यानिटाइजरको माग बढ्दो छ । लकडाउनका कारण पुर्याउन सक्ने स्थिति छैन ।’ माग के–कति आयो भनेर तथ्याङ्क राख्ने काम मात्रै भइरहेको छ भट्टराईले भने । काठमाडौँबाहिर ढुवानी गर्न मन्त्रालयको सहयोग चाहिन्छ तर यस विषयमा मन्त्रालयले अहिलेसम्म सोधीखोजी नगरेको भट्टराई बताउँछन ।

लिमिटेडका अनुसार अहिले बजारमा उपलब्ध स्यानिटाइजरमा अल्कोहलको मात्रा ४० देखि ७० प्रतिशतसम्म मात्रै हो । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरमा त्यसको मात्रा ८० प्रतिशत रहेको निमित्त महाप्रबन्धक बज्राचार्यको दाबी छ । उनले भने, ‘अहिलेको अवस्थामा हामीले उत्पादन गरेको स्यानिटाइजर सबैले सहजै पाउन सकुन् भन्ने हो ।’ लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर उपत्यकाका सरकारी कार्यालय, विभिन्न संघसंस्था, नेपाली सेना, प्रहरी, अस्पताललगायतले लग्ने गरेका छन् ।

बोतल सानो हुँदा अधिकांशले ठूलो भाँडोमा लिटरका हिसाबले खरिद गर्ने गरेको स्टोर प्रमुख भट्टराई बताँछन । एक सय मिलीलिटर स्यानिटाइजरको मूल्य १७५ रुपैयाँ तोकिएको छ । लिमिटेडले स्यानिटाइजरसँगै सिटामोल, सिटाप्लस र जीवनजलसमेत उत्पादन गरिरहेका छ । तीन महिनायता २५ टन सिटामोल उत्पादन गरेकामा अब पाँच टन जति मौज्दात रहेको उनले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL