काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना उपचार गर्ने अस्पताल त्यसैका लागि प्रयोग गर्ने बताएका छन । उनले ६ ओटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग सोमबार कुरा गर्दै सो कुरा बताएका हुन ।
टोलिलाई निर्देशन दिँदै मन्त्री ढकालले भने, ‘जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्ण रुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ ।’ मन्त्री ढकालले टेकु, पाटन र सशस्त्र प्रहरीको अस्पताल पूर्ण रुपमा कोरोनाका लागि उपचार सुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउने जानकारी दिएका हुन ।
उनले सबै मिलेर काम गर्दामात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहीक रुपमै काम गर्नुपर्ने बताए । उनले भने, ‘एक व्यक्तिले भन्दा सामूहिक रुपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ ।’ उनले जस्तो सुकै चुनौति पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै काम अघि बढाउनुपर्ने बताएका छन ।
मन्त्री ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन । कोराना उपचारका लागि तयार गरिएका अस्पतालहरुको तयारीका बारेमा अनुगमन टोलीको तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अस्पतालहरुको अवस्थाको बारेमा मन्त्री ढकाललाई जानकारी गराएका थिए ।
टोलीले कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, केएमसी अस्पताल रहेका छन । अनुगमनमा ६ वटै अस्पतालहरु कोरानाको उपचारका लागि पूर्ण रुपमा तयार भएको टोलिको निष्कर्ष रहेको छ ।