Logo

यसकारण लकडाउन फेरि एक साता थप्ने तयारी, यसरी हुँदैछ गृहकार्य !

यसकारण लकडाउन फेरि एक साता थप्ने तयारी, यसरी हुँदैछ गृहकार्य !



काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

यसैबीच आज ४ बजे बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैंठकमा पनि लकडाउनबारे छलफल हुने भएको छ । चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने कि नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बताएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन कति दिन थप्ने निर्णय गरेपछि मन्त्रीपरिषदले निर्णय गर्ने भएकाले पनि आजै लकडाउन थप्ने निर्णय भने नहुने सम्भावना रहेको स्रोतले बतायो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए । कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनलगायतपछि मात्र लकडाउन खुल्न सक्ने बैठकपछि उनले बताए ।

उनले जोखिम कम भएका जिल्लामा छोंटो दुरीको यातायात सेवा अवस्था हेरी सञ्चालन गर्न सकिने जानकारी पनि दिए। अझै एक साता लकडाउन लम्बाएपछि अवस्था हेरेर थप निर्णय लिनुपर्ने उनको भनाइ छ । ‘कम जोखिम भएका जिल्लामा छोटो दुरीमा सवारी साधन चलाउन पनि सकिन्छ, स्थिति हेर्न अझै बाँकी छ’, उनले भने ।

भारतले एकैपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो भने नेपालले पटकपटक गरी दुई साता लकडाउन गरेको छ । अर्को लकडाउन तेस्रो साताका लागि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL