Logo

निरन्तर लकडाउनको आठौं दिन : थप कडाइ गर्दै प्रहरी, उपत्यकामा लकडाउन तोड्ने ४६५ जना पक्राउ

निरन्तर लकडाउनको आठौं दिन : थप कडाइ गर्दै प्रहरी, उपत्यकामा लकडाउन तोड्ने ४६५ जना पक्राउ



काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज आठौं दिन हो । सरकारले पहिलो चरणका लागि घोषणा गरेको लकडाउन आज समाप्त हुने भएपनि सरकारले आइतबार पुनः आठ दिनका लागि लकडाउन थप गरेको थियो । दोश्रो चरणको लकडाउनको आज पहिलो दिनपनि देशैभर मानिसहरु घरभित्रै रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै अत्यावश्यक सेवाका लागिमात्र बाहिर निस्कन पाइने सरकारी आदेशको केहीदिन धेरैबाट उल्लंघन भएपनि सातौं दिनसम्म आईपुग्दा घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ ।

सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्। गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दलराम टमाटाका अनुसार लकडाउनको आठौं दिन मंगलबार बिहानै लकडाउन तोड्नेहरु उल्लेख्य भएका छन् ।

मंगलबार बिहान ६८ वटा सवारी साधनलाई कार्वाही गरिएको छ । चालकहरुलाई अस्थायी क्वारेन्टाइनमा राखिने छ । ३ वटा कार र ६५ वटा दुई पाङ्ग्रे सवारी साधन रहेका हुन् । एक हप्तालाई पास दिइएको थियो । सोमबार पासको अवधि सकिएको छ । ती पासहरु आवश्यकता अनुसार नविकरण गरिने छ । गएको २४ घण्टामा ललितपुरको चोभारमा साइकल दुर्घटनामा परी दुई जना भारतीय नागरिकको ज्यान गएको छ । अन्य दुर्घटनाका घटना भने भएका छैनन् । यता, प्रहरी नायब निरीक्षक नवराज थापाका अनुसार मंगलबार बिहान काठमाडौंबाट ४१२ जना पुरुष र ५३ जना महिला पक्राउ परेका छन् ।

परिस्थिति हेरेर उनीहरुलाई छाड्ने गरिएको छ । सोमबार १६ सय ९० जना पक्राउ परेका थिए । अत्यावश्यक कामले हिँडेको बाहेक अनावश्यक हिँड्नेलाई कार्वाही गरिने छ । सोमबारदेखि होल्ड गर्ने समय दुई घण्टाबाट बढाएर तीन घण्टा पुर्याइएको छ । दिनानुदिन उल्लंघन गर्नेलाई कार्वाही प्रक्रिया लम्बिने थापाले बताए । नियन्त्रणमा पर्नेहरुमा कोही मर्निङ वाकमा निस्कने र रमाइलो लागेर निस्कने पनि छन् । मंगलबार नेपाल सरकारले तोकेको र अत्यावश्यक बाहेकका सवारी साधनलाई रोकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL