Logo

‘लकडाउन’ को पाँचौं दिन : यसरी उपलब्ध गराउँदै छ सरकारले जनतालाई खाद्यान्न ! सुपरमार्केटको होम डेलीभरी सर्भिस

‘लकडाउन’ को पाँचौं दिन : यसरी उपलब्ध गराउँदै छ सरकारले जनतालाई खाद्यान्न ! सुपरमार्केटको होम डेलीभरी सर्भिस



काठमाडौं । सरकारले मंगलबारदेखि लागू हुने गरी घोषणा गरेको एकहप्ते देशव्यापी लकडाउनको आज पाँचौ दिन पनि देशैभर मानिसहरु घरभित्रै रहेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै अत्यावश्यक सेवाका लागिमात्र बाहिर निस्कने पाइने सरकारी आदेशको केहीदिन धेरैबाट आदेश उल्लंघन भएपनि पाँचौं दिनसम्म आईपुग्दा घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ ।

पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ । ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य जस्तै देखिदैं गएको छ ।

सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । त्यसैले यो अवधिमा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेका छैनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारी साधनलाई आवश्यकता मूल्यांकनका आधारमा सुरक्षा निकायले अनुमति दिएको छ ।

पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पनि डरत्रासका कारण जनताले सरकारी आदेशको पालना गर्दै घरमा बस्न थालेका हुन् । हालसम्म ४ जनामा कारोना संक्रमण देखिइसकेको छ । यसैबीच सरकारले ६० वर्षमाथिका नागरिकमा कोरोनाको शंका लागेमा सबै नागरिकको जाँच गर्ने उद्घोष समेत गरिसकेको छ । हाल सरकारले कोरोना सक्रमण भए नएको पत्ता लगाउन देशभरबा नमुना संकलन कार्यलाई समेत तीब्र बनाएको छ ।

यसैक्रममा शुक्रबार बसेको नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोेजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले कोभिड–१९ नियन्त्रण नियन्त्रणका लागि हालसम्म गरेको कामको समीक्षा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको समन्वय समितिको बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफल गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए

समितिले मानिसको आवागमनलाई नियन्त्रण गरेर दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई नियमित गर्नुपर्ने चुनौतीका बीचमा पनि अत्यावश्यक सामग्रीको उत्पादन, ढुवानी र वितरणसँगै ग्राहकको आवागमनलाई नरोक्ने निर्णय गरेको छ । उनले भने ‘कहीँकतै खाद्य सामग्रीका ढुवानीका साधन रोकिएका रहेछन, सामान्य किनमेल गर्न जाँदा कोही रोकिएका रहेछन, अथवा कहीँ भन्सार विन्दुदेखि बजार विन्दुसम्म अवरोध भएको रहेछ भने त्यसलाई सहजीकरण गर्ने निर्णय भएको छ ।’

नागरिकले संयमित भएर, केही दूरी कायम गरेर, भीडभाड नगरी आफ्नो स्वास्थ्य सुरक्षा ख्याल गरेर मात्रै किनमेल गर्न सरकारले सुझाव दिएको छ । कोभिडबाट हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ठूलो उद्योग र व्यवसाय सञ्चालन हाललाई स्थगित नै राख्नुपर्छ भन्ने समितिको निष्कर्ष छ ।
मुलुकका विभिन्न स्थानमा रोकिएका विदेशी पर्यटकलाई सडक र हवाई मार्गबाट उद्धार गरेर काठमाडौँ ल्याउने र उनीहरुलाई पर्यटन बोर्डले निगरानीमा राख्ने र सम्बन्धित देश पठाउन प्रयास गर्न निर्देशन दिएको छ । केही श्रमिक उद्योग एवं कारखाना बन्द भएपछि मुलुकभित्रै अप्ठेरोमा परेका श्रमिकलाई सुरक्षित ढङ्गबाट गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्ने समितिले निर्देशन दिएको छ ।

निर्माणसम्बन्धी कार्यहरुमा कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुलाई आ–आफ्नो गृह जिल्लासम्म पुर्याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई समितिले निर्देशन दिएको हो । समितिले विदेशमा अध्ययनका लागि गएका र विखर्ची अवस्थामा रहेका विद्यार्थीलाई बाबुआमाले उनीहरुलाई खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटहीको व्यवस्था गर्न सहजीकरण गर्ने निर्णय भएको छ ।

आयात हुने सामान कलकत्ता पोर्टबाट हाम्रो भन्सार विन्दुसम्म ठूलो परिमाणमा आएता पनि ढुवानी गर्ने साधन, कामदार, भन्सार एजेन्टस् आवागमन नभएको हुँदा उपकरण छुटाउन पनि अप्ठेरो भएको सन्दर्भमा आफ्ना सामान भन्सार विन्दुबाट छुटाउनका लागि व्यवसायी र निजी क्षेत्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । भन्सार विन्दुमा उपभोग्य सामान पनि रहेको बताइएको छ ।
समितिले स्वास्थ्य सामग्री र उपकरणको सहजीकरण गर्ने विषयमा पनि छलफल गरी अध्यावधिक विवरण लिएको छ । पोखरास्थित पश्चिम क्षेत्र अस्पताललाई कोरोना उपचारसम्बन्धी डेडिकेटेड अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकारले पठाएको अनुरोधलाई बैठकले सिफारिस गरेको छ ।

पीपीईलगायतका कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि उपचारका क्रममा चिकित्सकबाट प्रयोग गरिने निजी क्षेत्रबाट स्वतस्फूर्त ढङ्गबाट उत्पादन गरी उपलब्ध गराउने भनिएका सामग्रीको मापदण्ड स्वास्थ्य सेवा विभागले हेरेर प्रमाणित गरेपछि मात्र प्रयोगमा ल्याइने मन्त्री खतिवडाले जानकारी दिए ।

यो अवधिमा सर्वसाधारणले दैनिक अत्यावश्यक बस्तु सहजै नपाइएको गुनासो गरिरहेका छन् । यस्तोमा शुक्रबार सरकारले अत्यावश्यक सामग्रीको उत्पादन, ढुवानी र वितरण सहज बनाउने निर्णय गरेसँगै आजबाट जनताले सहज रुपमा अत्यावश्यक सामग्री पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL