Logo

चितवनमा कोरोना उपचार अस्थायी अस्पतालमा एक बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी

चितवनमा कोरोना उपचार अस्थायी अस्पतालमा एक बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी



काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ। उनको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ। परीक्षणको नतिजा भने आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए। ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो।

उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ। उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो। कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो।

‘उनी पहिलेदेखि नै लुपुस नामक रोगले पीडित रहेछन्। यसपाली ज्वरो र निमोनिया पनि देखिएपछि यहाँ ल्याइएको थियो,’ कोरोना नियन्त्रण कार्यदलका सदश्यसचिव डा। भोजराज अधिकारीले भने। डा। अधिकारीले ती युवकको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै काठमाडौं पठाइएको बताए।

टेकु अस्पताल स्रोतले परीक्षणको नतिजा साँझसम्म आउने बताएको छ ।युवकको शवलाई अहिले अस्पतालमै सुरक्षित तरिकाले राखिएको छ।

प्रतिक्रिया दिनुहोस्