Logo

भोलिदेखि गण्डकी प्रदेश प्रवेशमा रोक, पोखरा रंगशालालाई क्वारेन्टाइन बनाउने प्रदेश सरकारको घोषणा

भोलिदेखि गण्डकी प्रदेश प्रवेशमा रोक, पोखरा रंगशालालाई क्वारेन्टाइन बनाउने प्रदेश सरकारको घोषणा



काठमाडौं । गण्डकी प्रदेश सरकारले मंगलबार बिहानदेखि प्रदेश प्रवेशमा रोक लगाउने भएको छ ।

प्रदेश सरकारले सार्वजनिक सवारी आउजाउ रोक्दै अत्यावश्यक सामाग्री मात्र भित्र्याउन पाउने व्यवस्था गरेको प्रदेश सरकारले जानकारी दिएको हो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस नेपालमा समेत देखिन थाले पछि गण्डकी प्रदेशले प्रदेश प्रवेशमा रोक लगाउने भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारदेखि लागु हुनेगरि एक हप्ताका लागि नाकाबाट सवारी आउजाउ रोक लगाएको बताएका हुन । उनले भने, ‘अत्यावश्यक सामाग्री भने त्यो अवधिमा पनि सहजै आउजाउ गर्न सक्नेछन ।’

प्रदेशभित्र कोरोना संक्रमण रोक्नका लागि गठिन गठित निर्देशक समितिको पहिलो बैठकले प्रदेशमा जोखिम न्यूनीकरण गर्न नाका बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिएका हुन । शर्माका अनुसार बागलुङको वुर्तिवाङ, नवलपुरको त्रिवेणी, स्याङजाको राम्दी र तनहुँको आँबुखैरेनीमा मंगलबार बिहानदेखि सार्वजनिक सवारी आउजाउ गर्न नपाउने गरि नाका बन्द गरिनेछ । ‘यात्रु आउजाउ गर्दा संक्रमण फैलिन सक्ने भएकोले सचेतना अपनाएका हौ,’ उनले भने, ‘एकसातामा अवस्था फरक हुनपनि सक्छ ।’

निर्देशक समितिको बैठकले पोखराभित्र संचालित सबै अस्पतालको ओपिडि सेवा पनि बन्द गरेर इमर्जेन्सीमा परिणत गरेको बताए । ओपिडि सेवा बन्द हुँदा बिरामीलाई सास्ती हुने भएपनि संक्रमण फैलिन नदिन यो निर्णय गर्नुपरेको उनले बताए । ‘सबै अस्पतालका ओपिडी सेवा बन्द गर्ने र त्यहाँ इमर्जेन्सी सेवा सुरु गर्ने निर्णय गरेको छ । एउटा बिरामीका कारण अरुलाई असुरक्षा नहोस भनेर यो निर्णय गरेका हौ,’ उनले भने ।

प्रदेश सरकारले लेखनाथको सामुदायिक लायन्स अस्पतालाई कोरोना उपचारका लागि विशेष अस्पताल बनाउने निर्णय गरेको छ । त्यस्तै मालेपाटनमा रहेको कृषि निर्देशनालयको तालिम केन्द्रको होस्टेललाई ६० शैया क्वारेन्टाइनस्थल बनाउने समेत निर्णय गरेको उनले जानकारी दिएका छन ।

कृषिको भवनले अपुग भएमा सशस्त्र प्रहरीको लामापाटनस्थित भवनलाई पनि उपयोग गर्न सकिने छ । त्यसबाहेक पोखरा रंगशालालाई समेत क्वारेन्टाइनमा उपयोग गर्न सकिनेबारे छलफल भएको छ । मुख्यमन्त्री विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ राख्नेबारे छलफल भएको समेत शर्माले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्