Logo

सरकारले कोभिड–१९ का संक्रमितलाई निशुल्क उपचार गर्ने : मन्त्री ढकाल

सरकारले कोभिड–१९ का संक्रमितलाई निशुल्क उपचार गर्ने : मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्ने बताएका हुन । उनले भने, ‘कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गर्छौं ।’

उनले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको बताए । ‘हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ’, उनले भने, ‘कोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।’

फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका थिए । गत मङ्गलबार आएका उनको परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्री ढकालले विगतमा पनि कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको हो भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने बताएका हुन ।

उनले आइतबारदेखि चीन र भारतका सीमा एक हप्तासम्म बन्द गरिएको जानकारी दिँदै ती दुई देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरिएको बताए । कोरोना अतिप्रभावित ५५ देश र ती देशबाट ट्रान्जिट भएर आउने यात्रुलाई नलिने भनेर निर्णय भए पनि केही अपवादका घटना भएपछि होम क्वारेन्टाइनमा पठाइएको मन्त्री ढकालले बताए ।

खरिपाटीस्थित क्वारेन्टाइन आकस्मिकका लागि राखिने छ । उनले भने, ‘हवाईमार्गबाट आएका र तत्काल आफ्नो बस्ने व्यवस्था नभएकाहरुलाई सरकारले खरिपाटीमा राखेको छ ।’ बाहिरबाट आएका संक्रमितलाई अप्ठ्यारो भयो भने सरकारले तोकिएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी समेत मन्त्री ढकालले जानकारी दिएका छन ।

सबै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला

सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पताल स्तरको प्रयोगशाला निर्माण गरिने जानकारी मन्त्री ढकालले दिएका छन । सम्बन्धित प्रदेशमा कोभिड–१९ सँग सम्बन्धित रोगका बारेमा मात्र उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने छ । उनले भने, ‘सञ्चारमाध्यमलाई कोरोना भाइरससँगको लडाइँलाई कमजोर बनाउने खालका सूचना प्रवाह नगर्नु ।’

कोरोना भाइरससँग सम्बन्धित औषधि सामग्री ल्याउन विदेशस्थित कूटनीतिक नियोगबाट पहल भइरहेको समेत उनले जानकारी दिएका छन । विदेशबाट अत्यावश्यक सामग्रीको सुनिश्चिता हुनेबित्तिकै सरकारले तयारी अवस्थामा राखिएका हवाईजहाजलाई पठाइने उनको भनाइ थियो । सरकारले चीन र भारतबाट सामग्री ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुस्थित प्रयोगशालालाई विस्तार गरेर कोरोना भाइरसको नमूना परीक्षण बढाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म ६०० जनाको नमूना परीक्षण गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्