Logo

नेपालसँग नाका जोडिएको बिहारमा पनि कोरोना भाइरसका कारण एकको मृत्यु, नेपालतर्फ चिन्ता बढ्यो

नेपालसँग नाका जोडिएको बिहारमा पनि कोरोना भाइरसका कारण एकको मृत्यु, नेपालतर्फ चिन्ता बढ्यो



काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको राजधानी पटनामा कोरोना भाइरसका कारण एक संक्रमितको मृत्यु भएको छ । पटनाको एम्स अस्पतालमा शनिबार ती व्यक्तिको मृत्यु भएको हो ।

यो कोरोनाका कारण बिहारमा भएको पहिलो मृत्यु हो भने भारतमा भएको छैटौँ मृत्यु हो । स्थानीयअरुका अनुसार ती व्यक्ति कतारबाट फर्किएका थिए । पछि उनमा कोरोना भाइरस संक्रमण देखिएको हो । उनको मृत्यु शनिबार विहान भएको थियो ।

बिहारमा अर्का एकजना पनि कोरोना संक्रमित छन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनी स्कटल्यान्डबाट फर्किएका हुन् । यसअघि बिहारमा एउटा पनि कोरोना भाइरस संक्रमित देखिएका थिएनन् । नेपालसँग भारतको बिहार जोडिएकाले पनि बिहारमा कोरोना संक्रमितको मृत्यु भएको खबरसँगै सीमाक्षेत्रका नेपालीमा चिन्ता बढेको छ ।

आइतबारदेखि बिहार राज्यसँग जोडिएका धनुषाको ३५ वटा नाका बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले कुल ३७ नाका मध्ये ३५ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो । भारतको बिहार राज्यबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्लाको मुख्य जटही र खजुरी नाकाबाहेक सबै नाका सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

जटही र खजुरी नाकाबाट आवतजावत तथा सरसामान आयात निर्यात भए पनि अन्य सम्पूर्ण नाकाहरु पूर्ण रुपमा बन्द गरिएको उनले बताए । जटही र खजुरी नाकाबाहेक अन्य नाकाहरुबाट मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द भएको निरौलाले जानकारी दिएका छन् ।

छिमेकी मुलुकमा कोरोना संक्रमण देखिसकिएको र धनुषा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहेकोले पूर्व सावधानीस्वरुप यस्तो निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। खुल्ला गरिएका दुई नाकामा समेत चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ।

यसैगरी सरकारी कार्यालयहरुले आइतबारदेखि सेवा दिने काम बन्द गरेको उनले बताएका छन्। कार्यालयहरु सञ्चालन भए पनि सेवाहरु बन्द रहने उनले बताए । कार्यालयहरुमा सेवाग्रहीको भीडभाड कम गर्न यसो गरिएको निरौलाले बताए।

यसका साथै जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरको मुजेलियास्थ्ति मणिपाल मेडिकल कलेजको प्रयोगविहीन भवनमा ६० देखि ७० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार ७० देखि ८० घण्टाको अवधिमा क्वारेन्टाइन भवन बनाउन तयारी थालिएको छ। मणिपाल कलेजमा क्वारेन्टाइन बनाउनेबारे जानकारी लिन जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह नेतृत्वको टोलीले अनुगमनसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL