Logo

चैत २१ गतेसम्म अत्यावश्यकबाहेक अरु सामग्री बिक्रीवितरण नगर्ने गरि ‘व्यापार–व्यवसाय’ बन्दको घोषणा

चैत २१ गतेसम्म अत्यावश्यकबाहेक अरु सामग्री बिक्रीवितरण नगर्ने गरि ‘व्यापार–व्यवसाय’ बन्दको घोषणा



काठमाडौं । कोभिड–१९ (कोरोना भाईरस) को संक्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार संघले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । संघको आईतबार बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो २१ गतेसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसंघले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिएका हुन । उनले भने, ‘व्यापार संघमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौं ।’

अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । विसं २०४७ मा स्थापित संघमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।

नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आज बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरेका हुन ।

नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापनासँगै काठमाडौँ उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ । नगरपालिकाका प्रमुख गिरीले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताएका हुन । उनले भने, ‘सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ ।’

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कक्ष स्थापनासँगै चार समूह बनाएर २४ सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताएका छन । चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ/रासस

प्रतिक्रिया दिनुहोस्