Logo

अर्थमन्त्री भन्छन्, संविधानको मस्यौदा निजीक्षेत्र मैत्री भएन, परिमार्जन गर्न माग 

अर्थमन्त्री भन्छन्, संविधानको मस्यौदा निजीक्षेत्र मैत्री भएन, परिमार्जन गर्न माग 


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ साउन, काठमाडौं । हालै ल्याइएको संविधानको प्रारम्भिक मस्यौदा निजीक्षेत्र मैत्री नभएको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । निजीक्षेत्र अघि नबढी देश आर्थिक रुपमा अघि नबढ्ने बताउँदै हालको मस्यौदालाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो । ‘देशलाई अघि बढाउन निजीक्षेत्रको पुँजीलाई आकर्षित गर्नुपर्छ,’ बुटवलमा आन्तरिक राजस्व कार्यालय भवन उद्घाटन गर्दै उनले भने, ‘हालसम्म कुनै पनि मुलुक निजीक्षेत्रको पुँजी लगानी नगरी अघि बढेको छैन ।’

देश निर्माणमा स्देशी तथा विदेशी पुँजी आकर्षिक गर्नका लागि पनि संविधानको मस्यौदामा परिमार्जन गर्नुपर्ने उनको तर्क थियो । ‘उद्योग कलकारखाना तथा निजी क्षेत्रका सम्बन्धमा संविधानमा जुन कुरा उल्लेख गरिएको छ त्यसले राम्रो सन्देश दिँदैन,’ उनले भने, ‘देशमा विदेशी पुँजी आकर्षित गर्नका लागि पनि निजीक्षेत्रको सम्बन्धमा उल्लेख गरिएका बुँदाहरु परिमार्जन गर्नु जरुरी छ ।’

उनका अनुसार आर्थिक विकासलाई द्वुत गतिमा अघि बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजी आकर्षित गर्नुपर्छ । त्यसको वातावरण बनाउने सन्देश अव बन्न लागेको संविधानले दिनुपर्छ । तर, हाल बन्न लागेको संविधानले निजी पुँजी आकर्षित नभई संकुचित गर्ने सन्देश दिने खालको छ । देशलाई आर्थिक रुपमा अघि बढाउनका लागि निजीक्षेत्रलाई आकर्षित गर्नुको कुनै विकल्प छैन ।

संविधानमा निजीक्षेत्रलाई आकर्षित गर्ने खालको बनाउनका लागि यस अघि पनि संसदमा कुरा उठाएको र आगामी दिनमा पनि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । अहिलेको मस्यौदा अनुसार देश आर्थिक रुपमा अघि नबढी झन पछि धकेलिने उनको चिन्ता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL