Logo

बजारमा किन फैलियो अत्यावश्यक बस्तु अभावको हल्ला ? व्यापारी भन्छन ६ महिनालाई ढुक्क भए हुन्छ

बजारमा किन फैलियो अत्यावश्यक बस्तु अभावको हल्ला ? व्यापारी भन्छन ६ महिनालाई ढुक्क भए हुन्छ



काठमाडौं । पछिल्लो समय बजारमा अनावश्यक अत्यावश्यक बस्तुको अभावको हल्ला फैलिएको व्यापारीहरुले बताएका छन । मंगलबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कोरोना भाईरसको सन्दर्भमा आपुर्ति व्यवस्थाका विद्यमान अवस्थाबारे अन्तक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यापारी, व्यवसायीहरुले अत्यावश्यक बस्तुको अभाव नभएको दावी गरेका छन ।

चेम्बरले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी तथा व्यापारीहरुले उपभोक्ता आफैले अभाव सिर्जना गरिरहेको बताएका हुन । व्यवसायीका अनुसार कम्तिमा आगामी ६ महिनाका लागि बजारमा अत्यावश्यक मालवस्तु पर्याप्त मात्रामा छ ।

सोही कार्यक्रमका बोल्दै ग्याँस व्यवसायी संघका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव नभएको बताएका छन । उनका अनुसार पछिल्लो समय ग्याँस भारतबाट भनेजति आपुर्ति भईरहेका कारण आगामी दिनमा समेत ग्याँसको अभाव हुनेछैन । ‘हाल ग्याँसको कुनै अभाव छैन,’ उनले भने, ‘तर उपभोक्ताले आफुले चाहिनेभन्दा बढी ग्याँसका सिलिण्डर जम्मा गरेर घरमा राखेका कारण ग्याँस सिलीण्डरको भने अभाव हुनेजस्तो देखिएको छ ।’

उनले उपभोक्तालाई आफुलाई चाहिनेभन्दा बढी ग्याँसका सिलीण्डर जम्मा नगर्न समेत आग्रह गरेका छन ।

यस्तै कार्यक्रममा बोल्दै औषधि व्यवसायीहरुले समेत औषधि पर्याप्त मात्रामा भएको बताएका छन । औषधि व्यापारीहरुले बजारमा औषधि बनाउनलाई आवश्यक कच्चा पदार्थ पनि भनेबमोजिम र औषधि पनि ६ महिनालई ढुक्कले पुग्ने बताएका हुन । बजारमा औषधिमा कालोबजारी भईरहको प्रश्नमा भने व्यापारीहरुहरुले औषधिमा कालोबजारी भएको थाहा पाएमा फोन गर्न समेत आग्रह गरेका छन ।

पछिल्लो समय चीनस्थित हुवेइ प्रान्तको वुहान शहरदेखि सुरु भएको कोरोना भाईरसका कारण विश्वमै यसको केही असर परेको छ ।

यस्तो बेला नेपाली उपभोक्ताहरुले भने विभिन्न अत्यावश्यक बस्तुहरु अनावश्यक भन्डारण नगर्न समेत नेपाल तेल, चामल, दाल उद्योग संघका अध्यक्ष अजय पराजुलीले आग्रह गरेका छन । उनले नेपालमा तेल, चामल तथा दालको पनि पर्याप्त भन्डारण रहेको बताउँदै नआत्तिन आग्रह गरेका हुन ।

यस्तै चेम्बरको अन्तरक्रिया कार्यक्रममा बोल्दै खाद्य, किराना, थोक व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बजारमा किराना तथा खाद्य सामाग्री पनि प्रशस्तै रहेको बताएका छन । उनले जापानको उदाहरण दिँदै नेपालमा मानिसहरुले आफ्नो बाहेक अरुको बारेमा नसोच्ने बताएका हुन ।

‘जापानमा केही कुराको अभाव भयो भने मानिसहरु अरुले पनि पाउनुपर्छ भनेर चाहिनेभन्दा कम सामान लिन्छन,’ उनले भने, ‘तर नेपालमा भने त्यस्तो हुँदैन केही अभाव भएको संकेत आयो भने धेरै भन्दा धेरै राख्ने प्रवृत्ति छ ।’

कार्यक्रममा बोल्दै आपुर्ति सचिव वैकुण्ठ अर्यालले नेपालमा कालोबजारी हुन नदिने बताएका छन । उनले कतै कालोबजारी भएको थाहा पाएमा ११३७ मा तुरुन्तै खबर गर्न समेत आग्रह गरेका छन । यस्तै उनले अत्यावश्यक बस्तुको आपुर्तिको सहजताका लागि व्यवसायीसँग सहजीकरणको काम गरिरहेको समेत बताएका छन ।

यस्तै उनले ग्याँस व्यवसायीलाई नयाँ सिलिण्डर नबेच्न निर्देशन दिएको छ । उपभोक्ताले ग्याँसका सिलिण्डर अनावश्यक रुपमा भण्डारण गर्नाले ग्याँस आपुर्ति नै खराव हुने बताउँदै उनले नयाँ सिलिण्डर नबेच्न समेत निर्देशन दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्