Logo

होली नखेल्न गृह मन्त्रालयको निर्देशन, कालोबजारी गर्नेलाई कारबाही

होली नखेल्न गृह मन्त्रालयको निर्देशन, कालोबजारी गर्नेलाई कारबाही



काठमाडौं । गृह मन्त्रालयले नजिकिँदै गरेको होली पर्व भिडभाडका साथ नखेल्न निर्देशन दिएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै भिडभाड लगायतका क्रियाकलापका कारण कोरोना एकआपसमा सर्ने खतरा बढ्ने भन्दै यस्ता क्रियलापमा रोक लगाएको हो ।

यस्तै मन्त्रालयले कोरोना भाइरसका विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न समेत आग्रह गरेको छ । भाइरसको सङ्क्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो ।

सरकारले सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न पनि मन्त्रालयका प्रवक्ता एवं सह–सचिव केदारनाथ शर्माले आग्रह गरेका छन् ।

यस्तै मन्त्रालयले हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न पनि आग्रह गरेको छ । कसैले कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच, होली पर्व नजिकिएसँगै भीडभाड र भेलामा जम्मा हुने, लोला फ्याक्ने, शरीरमा रंग र अबीर दल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाडमा नहिँड्न, स्वास्थ्यमा ध्यान दिन र भोजभतेर, मेला र सम्मेलनलगायतका कार्यक्रम नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL