Logo

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग, अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग, अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन । त्यस्तै बजारमा भईरहेको कृतिम अभाव र औषधिजन्य सामग्रीको अभाव हुन नदिन समेत सरकारलाई सचेत गराएका छन ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका छन ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरेकी छिन । नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गगरिन । उनले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न समेत माग गरेकी छिन ।

छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको संक्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको संक्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जानकारी दिएको छ । बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।

विश्वका ८४ देशमा ‘कोभिड–१९’ को संक्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन्/रासस

प्रतिक्रिया दिनुहोस्