Logo

बजारमा कृत्रिम कालोबजारी, अत्यावश्यक बस्तुको अभाव नरहेको वाणिज्य विभागको दाबी

बजारमा कृत्रिम कालोबजारी, अत्यावश्यक बस्तुको अभाव नरहेको वाणिज्य विभागको दाबी



काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको त्राससँगै बजारमा विभिन्न अत्यावश्यक बस्तुको अभाव देखिएको छ । अहिले बजारमा मास्क, स्यानिटाइजरदेखि ग्याससम्मको अभाव देखिएको छ । तर, बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य विभागले भने बजारमा कृत्रिम अभाव श्रृजना गरिएको र कुनै पनि अत्यावश्यक बस्तुको अभाव नरहेको दाबी गरेको छ ।

विभिन्न प्रकोपमा मौका छोप्ने व्यापारीहरुले यसपटक पनि कोरोनाको नाममा अत्यावश्यक बस्तुहरुको कृत्रिम अभाव बढाएको निष्कर्षसहित विभागले बजारमा हाल दैनिकजसो आवश्यक खाद्य तथा अखाद्य बस्तुको अभाव सिर्जना गरिएको र त्यो कृत्रिम भएको बताएको छ ।

चीनको हुवेई प्रान्तको वुहान शहरबाट गत माघदेखि सुरु भएको कोरोना भाईरसको महामारीका कारण विश्व अर्थतन्त्र नै खतरामा परेको छ । यसका लागि विभिन्न देशहरुले पूर्व सजगतासमेत अपनाईसकेका छन । यस्तै नेपालमा भने सरकारभन्दा अघि जनता सचेत हुने प्रवृत्तिले बजारमा कालोबजारी बढिरहेको उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिएका छन । उनका अनुसार बजारमा आवश्यक खाद्यपदार्थ छ तर उपभोक्ताले एकैचोटी धेरै माग गर्ने हुनाले अभाव भएको जस्तो मात्रै देखिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको सन्त्रास बढ्दै जाँदा एकातिर चीनबाटको आयात व्यापारमा केही असर परेको तर, बजारमा भएको सामान पनि भनेको बेला नपाईने, अभाव हुने, तोकिएभन्दा बढी मूल्य लिने प्रवृत्रि बढिरहेको उनको भनाई थियो । यस्तो बेला व्यापारीहरुले उपभोक्ताबाट चाहिनेभन्दा बढी मूल्य असुल्ने र भएको सामान पनि गोदाममा थन्क्याएर राख्ने प्रवृत्ति बढेको छ । यसलाई निर्मल पार्न पनि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग लागिपरेको विभागले बताउँछ ।

बजारमा कालोबजारी गर्न खोज्नेलाई आफुले कारबाहीको प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार बजामरा अभाव नहुँदा नहुँदै पनि अभाव सिर्जना गराउने र कालोबजारीको अन्त्य गर्न विभाग लागि परेको छ ।

हाल बजारमा चीनबाट आउने लत्ताकपडा र निर्माणका केही सामग्रीबाहेक अन्य सबै खाद्यपदार्थ बजारमा भरपुर रहेको खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष देवेन्द्र भट्टले जानकारी दिए । व्यापारीका अनुसार बजारमा कालोबजारी बढाउने मूख्य श्रेय उपभोक्तालाई नै जान्छ ।

बजारमा आपुर्तिको अवस्था नहेरी उपभोक्ताले आफुलाई चाहिनेभन्दा बढी वस्तु स्टकमा राख्न खोज्नाले बजारमा केही अभाव भएजस्तो देखिने उनको भनाई थियो । ‘बजारमा खाद्य सामाग्रीको कुनैपनि अभाव छैन,’ उनले भने, ‘खाद्य पदार्थहरु प्रायजसो नेपालमै पाईने र केही भारतबाट आयात हुने हुनाले बजारमा यसको अभाव छैन र हुँदैन पनि ।’

व्यापारीहरुले खाद्य सामग्री भरपुर रहेको बताएपनि चीनबाट आउने लत्ताकपडा, फलफुल लगायतको भने कमी हुने नेपाल चेम्बर अफ कमर्सका राजस्व समिति प्रमुख परसुराम दाहालले बताए । हाल व्यापारीहरु पछिल्लो डेढ महिनादेखि चीनबाट आयात हुने वस्तु नाकामै थन्किदा तनावमा रहेको उनको भनाई छ । यस्तै चीनबाट आउने स्याउ लगायतका फलफुल पनि बाटोमै कुहिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्