Logo

कोरोना आशंकामा क्वारेन्टाइनमा राखिएको १६ जनालाई आज घर पठाईने, बाँकी ८५ जनालाई सोमबार पठाउने

कोरोना आशंकामा क्वारेन्टाइनमा राखिएको १६ जनालाई आज घर पठाईने, बाँकी ८५ जनालाई सोमबार पठाउने



काठमाडौं । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्र क्वारेन्टाइनमा राखिएको १६ जनालाई आज घर पठाउने तयारी भईरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार आज क्वारेन्टाइनबाट बिदा हुनेहरुमा विमान चालक दलका क्रु मेम्बर १६ जना रहेका छन । विद्यार्थी ७५ जना र अन्य खाना बनाउने सरसफाई गर्नेलगायतका १० जना गरि बाँकी ८५ जनालाई भने भोली बेलुका सम्ममा घर पठाउने तयारी भईरहेको मन्त्रालयले जानकारी दिएको छ । क्रुमेम्बरका १६ जनालाई कोरोना भाईरसको संक्रमण नदेखिएपछि आजै पठाउने तयारी गरिएको हो ।

अन्य ८५ जनाको भने शनिबार अन्तिम स्वास्थ्य जाँच गरिएको र भोली अर्थात सोमबार बिहानमात्रै उक्त जाँचको रिर्पोट आईपुग्ने भएकाले सोमबार बेलुका सम्ममा सबैलाई क्वारेन्टाइनबाट बिधाईगर्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म सबैको रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको भन्ने आएको छ तर भोली १ जनालाई मात्रै पनि पोजेटिभ रिर्पोट आयो भने यसै भन्न सकिँदैन ।’

सरकारले चीनको हुवेई प्रान्तको उहान शहरबाट ल्याएको नेपालीलाई यही फागुन ४ गते भक्तपुर खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्र क्वारेन्टाइनमा राखेको थियो । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल वायुसेवा निगमको जहाज भने अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किसकेको छ ।

सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज फागुन ४ गते आइतबार बिहान साढे ३ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्