Logo

सहमतिपछि सप्तकोशी नदीमा पुनः जेटबोट सञ्चालन, बिहान ७ देखी बेलुका ५ बजे सम्म प्रहरी बस्ने

सहमतिपछि सप्तकोशी नदीमा पुनः जेटबोट सञ्चालन, बिहान ७ देखी बेलुका ५ बजे सम्म प्रहरी बस्ने



काठमाडौं । स्थानीय र जेटबोट संचालकबीच भाडा दर घटाउने सहमति पछि सप्तकोशी नदीमा पुन साना पानीजहाज संचालनमा आएको छ । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) बिहीबारदेखि सञ्चालनमा आएको हो ।

स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको संखुवासम्मको भाडा ३ सय रुपैयाँबाट २ सय ५० रुपैयाँ, चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा ३ सय ५० रुपैयाँबाट ३ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसतै चतराबाट हुतवागढी–९ हसनपुरको सिम्ले÷हलेदे नदी किनार आसपासका स्थानीयको भाडा ४ सय रुपैयाँ र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा ५ सय रुपैयाँ राखेको छ । स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि करिब एक सातादेखि सेवा बन्द भएको थियो ।

स्थानीयवासीसँग सहमति भएपछि गत सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो । सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । सो स्थानमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोष्ट रहने सहमतिसमेत भएको छ/रासस

प्रतिक्रिया दिनुहोस्