Logo

नारायणीमा क्रुजसिप चैतदेखि मात्रै चल्ने, अनलाइन बुकिङ खुल्दैं

नारायणीमा क्रुजसिप चैतदेखि मात्रै चल्ने, अनलाइन बुकिङ खुल्दैं



काठमाडौं । नारायणी नदीमा यही फागुनदेखि संचालनमा ल्याउने भनिएको क्रुजसिप (सानो पानीजहाज) चैत महिनादेखि मात्रै सञ्चालनमा आउने भएको छ । यसअघि उक्त मिनि पानीजहाजको निर्माण अन्तिम चरणमा पुगेको भन्दै फागुनदेखि संचालनमा ल्याउने संचालक कमपनी राइनो वाटर इन्टरटेन्मेन्टले घोषणा गरेको थियो ।

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरे पनि सो नियमावली उद्योगमा पुग्न समय लाग्ने भएकाले पनि केही ढिलाई भएको राईनोका निर्देशक दीपक ढुंगेलले जानकारी दिए । त्यस्तै उनले कहिलेदेखि संचालनमा ल्याउने भन्ने विषय तत्काल बताउन नसके पनि आफुहरुको बोर्ड बैठकले छिट्टै संचालन गर्ने मिति तोक्ने बताए । । उनले भने, ‘अहिले फागुन, चैत, बैशाख भन्दा पनि छिट्टो संचालन गर्ने हाम्रो तयारी भईरहेको छ ।’

हाल निर्माणकै चरणमा रहेको उक्त क्रुजसिपको बाहिरी भागमा केही काम बाँकी भएकाले पनि संचालनमा केही ढिलाई भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसअघि १० दिन भित्रै अनलाइन बुकिङ आह्वान गर्ने बताए पनि अहिलेसम्म बुकिङ खुलेको छैन् । ढुंगेलका अनुसार अनलाइन बुकिङको समेत केही काम बाँकी भएको तर अन्तिम अवस्थामा रहेकाले टिकट बुकिङ नखुलेको हो । तर, अब भने छिट्टै टिकट बुकिङ खोलिने उनले बताए ।

उक्त क्रुजसिपमा बिहानी खाना, दिवा खाना र रात्रिकालीन खानासहित क्रुज सफारीका लागि अनलाइन बुकिङ खुला गर्न लागिएको हो । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउनेसमेत व्यवस्था मिलाउने गरि काम भईरहेको छ । भुइँतलामा ९० वटा कुर्ची, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने गरि क्रुजसिप तयार भईरहेको छ ।

ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए । क्रुजसिपको सञ्चालनका लागि आवश्यक तीन जना क्र्यु मेम्बर र प्राविधिक हाललाई विदेशबाट ल्याइएको छ ।

क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा २ इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि करिब १५ करोड रुपैयाँ खर्च भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्