Logo

सर्लाहीबाट सवा अर्बको तरकारी निर्यात, शीतभण्डारण केन्द्र नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता

सर्लाहीबाट सवा अर्बको तरकारी निर्यात, शीतभण्डारण केन्द्र नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता



काठमाडौं । सर्लाहीको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा करीब सवा अर्ब रुपैयाँको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट आव २०७५/७६ मा १ अर्ब १५ करोड ५४ लाख ५७ हजार २ सय ४५ रुपैयाँ बराबरको तरकारी निकासी भएको हो ।

लालबन्दी, ईश्वरपुर, हरिवननगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करिब १ हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।

जिल्लाबाट ५५ हजार ९४५ टन तरकारी बाहिरिएकामा गोलभेँडाको पकेट क्षेत्रका रूपमा चिनिएको लालबन्दीबाट वार्षिक करिब २७ हजार ९७२ टन अर्थात् सबैभन्दा बढी ५० प्रतिशत गोलभेँडा तथा टमाटर बाहिरिने गरेको कार्यालयले जानकारी दिएको छ । त्यस्तै पर्वल २५, बोडी १०, सिमी १० र भिण्डी, काउली, बन्दा, भण्टा, घिरौंला, झिम्नी, लौका, फर्सी, मुन्गा र मूलालगायत पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जानकारी दिएको छ ।

आव २०७५/७६ को साउनमा १ हजार ५९९, भदौमा ४ हजार ९९८, असोजमा २ हजार ८१३, कात्तिकमा २३ हजार ३७२, मङ्सिरमा ३ हजार ७०८, पुसमा ३ हजार ७९६, माघमा ५ हजार ३७३, फागुनमा ३ हजार १०१, चैतमा १ हजार १८६, वैशाखमा ९२२, जेठमा २ हजार २९५ र असार महिनामा २ हजार ७७८ गरी कूल ५५ हजार ९४५ टन तरकारी जिल्लाबाहिर निर्यात भएको कार्यालयले जानकारी दिएको हो ।

स्थानीयवासीले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौं, पोखरा, बुटबल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा समेत जानेगरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले बताए ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीवासीले झण्डै १ हजार बिघाभन्दा बढी जमीनमा तरकारी खेती गर्ने गरेका कृषि ज्ञान केन्द्र मलङ्गवाका कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारी खेतीमा रमाइरहेका स्थानीयवासी रमेश अधिकारीले बताए । तरकारी खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाइ छ । यस पटक तरकारीबाट करिब ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको अर्का किसान रामपुकार महत्तोले बताए । सडक पुगेपछि व्यापारी गाउँमै पुगेर समेत तरकारी खरिद गर्ने गरेको किसान किशोरी महत्तोले बताएका छन ।

तरकारी उत्पादनबाट गाउँमा बर्सेनी ४/५ करोड भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दी–७ का अध्यक्ष कुमार न्यौपानेले बताए । गाउँका सबैजसोले तरकारी उत्पादन गर्दै आइरहेका छन् । जैविक तरकारी भएकाले देशका ठूला शहरमा समेत यहाँको तरकारी गोलभेँडा टमाटरको माग बढेको वडा नं ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए । गाउँमा शीतभण्डारण केन्द्र नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ/रासस

प्रतिक्रिया दिनुहोस्