Logo

अब काठमाडौंमा बिजुलीको तार भूमिगत, प्रधानमन्त्रीले गरे उद्घाटन

अब काठमाडौंमा बिजुलीको तार भूमिगत, प्रधानमन्त्रीले गरे उद्घाटन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्न शुरु गरेको छ । उक्त कार्यक्रमको प्रधामन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका छन् । पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गर्ने भएको हो।

विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन। काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो। प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो।

अन्डरग्राउन्डको काम आजैबाट शुरु भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए। अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएको छ। यसका लागि सडक यत्रतत्र खन्नुपर्ने छैन। तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ।

रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ।

दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन्। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ। प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।

विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो। यो सफल भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी छ। यी दुईवटा बितरण केन्द्रको तार ३२ महिनामा भूमिगत गरिसक्नेगरी भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिएको छ । दुईवटा वितरण केन्द्र अन्तर्गतका ९० हजार ग्राहकको घरसम्मको तार भूमिगत गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणले जनाएको छ । तार भूमिगत गर्दा सडक धेरै नखनिने र खनेको १० दिनभित्र पहिलेकै जस्तो बनाइसक्नेगरी सडक विभाग र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्