Logo

८ खर्व १९ अर्वको बजेट प्रस्तुत

८ खर्व १९ अर्वको बजेट प्रस्तुत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ असार, काडमाडौं । सरकारले आर्थिक वर्ष २०७२/०७३ का लागि कुल ८ खर्ब १९ अर्व ४६ करोडको बजेट प्रस्तुत गरेको छ । जसमा चालू खर्च तर्फ ४ खर्ब ८४ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्च तर्फ २ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा ३२ दशमलव ६ प्रतिशत र संसोधित अनुमानको तुलनमा ५६ दशमलव ८ प्रतिशतले बढी हो ।

खर्च व्यहोर्नका लागि सरकारले राजस्वबाट ४ खर्ब ७५ अर्ब १ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ भने साँवा फिर्ता प्राप्तीबाट २ अर्ब र बैदेशिक अनुदानबाट १ खर्ब १० अर्व रुपैयाँ उठाउने लक्ष्य लिएको छ । जसमा २ खर्ब २१ अर्ब रुपैयाँ नपुग देखिएको छ । सो न्युन पुर्तिका लागि ९४ अर्ब ९६ करोड रुपैयाँ वैदेशिक ऋणबाट जुटाइने भएको छ भने ८८ अर्ब आन्तरिक ऋणबाट र साढे ४८ अर्व चालु आवको नगद मौजादबाट व्यहोरिने भएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहितको बजेट प्रस्तुत गरेका हुन् । बजेटमार्फत सरकारले पुनर्निर्माण र पूर्वाधारमा विशेष प्राथमिकता दिएको छ । बजेटमा पुनर्निर्माण प्राधीकरणमार्फत परिचालन हुने गरी पुनर्निर्माणका लागि रु. ७४ अर्ब छुट्याइएको छ । प्राधीकरण गठन नहुन्जेल विषयगत मन्त्रालयबाट परिचालन हुने गरी रु. १७ अर्ब छुट्याइएको छ । यसैगरी सडकमा ५४ अर्ब, कृषि क्षेत्रमा २६ अर्ब, विद्युतमा ४५ अर्ब, शिक्षामा ९८ अर्ब ६४ करोड छुट्याइएको छ ।

अर्थमन्त्रीले बजेटमार्फत तराई–मधेशलाई विशेष प्राथमिकताका साथ रकम छुट्याएका छन् । बजेटले मधेशमा १० वटा सुविधासम्पन्न्न शहर निर्माण गर्ने, ५ वर्षभित्र हुलाकी राजमार्ग निर्माणका लागि आगामी वर्षका लागि रु. ३ अर्ब १९ करोड विनियोजन, सडकहरुको स्तरोन्नति, काठमाण्डौं तराई फास्ट ट्रयाकमा रु. १ अर्बसहितका कार्यक्रम घोषणा गरेको छ ।

बजेटले जेष्ठ नागरिकको भत्ता मासिक रु. ५ सयबाट १ हजार पुर्याएको छ भने आगामी ३ वर्षमा सबै गाविसमा विद्युत र सडक बाटो पुर्याउने, दुर्घटनामा परि घाइते भएकाहरुका विरामीको उपचारका लागि चितवनमा मदनभण्डारी र रुपन्देहीमा हरिखड्का ट्रमासेन्टर स्थापना गर्ने तथा काठमाडौं उपत्यकामा स्याटलाईट अस्पताल स्थापना गर्नेजस्ता कार्यक्रम रहेको छ । यस्तै, गत वर्ष शुरु भएको आर्थिक सुधारको कार्यक्रमलाई आगामी वर्ष थप प्रभावकारी रुपमा सञ्चालन गरिने अर्थमन्त्रीले बजेट बक्तव्य मार्फत घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL