Logo

नेपालभित्र पानीजहाज संचालनमा ४ कम्पनी सक्रिय, बिदेशमा सञ्चालनका को–को छन् इच्छुक ?

नेपालभित्र पानीजहाज संचालनमा ४ कम्पनी सक्रिय, बिदेशमा सञ्चालनका को–को छन् इच्छुक ?



काठमाडौं । पछिल्लो केही समययता नेपालमा र बिदेशमा पनि नेपाली पानीजहाज सञ्चालनको चर्चा निकै चलेको छ । भारतसँग जोडिएका नेपालका कोशी, गण्डकीजस्ता ठूला नदीहरुमार्फत भारतबाट नेपालमा पानीजहाज ल्याउने चर्चालाई सरकारले साकार पार्ने बताइरहेको छ ।

यस्तै नेपालको झण्डा भएको पानीजहाज समुन्द्रमा पनि छिट्टै सञ्चालनमा आउने सरकारले बताउँदै आएको छ । जसका लागि पानीजहाजसम्बन्धी नयाँ ऐन निर्माण गर्दैछ । अहिले नेपालको बिभिन्न स्थानमा साना पानीजहाजहरु तथा मोटरबोटहरु संचालनमा रहेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्यटन विभागमा दर्ता भएर कोशी तथा नारायणी नदीमा बिभिन्न कम्पनीहरुले साना पानीजहाज संचालन गरिरहेको बिभागले जानकारी दिएको छ । बिभागका अनुसार राईनो वाटर इन्टरटेन्टमेन्टले नारायणी नदीमा र कोसी एडभेन्चरले कोशी नदीमा सेवा दिइरहेका छन् ।

यस्तै रंगमहल रिभर ल्याण्ड र बराह क्षेत्र मरिन एण्ड एडभेन्चर कम्पनीले भने यी दुबै नदीमा परीक्षण सम्पन्न गरेर हाल सञ्चालन गरिरहेको बिभागका प्रवक्ता सुरेन्द्र थापाले जानकारी दिएका छन । त्यस्तै केही ठूला नदीहरुमा भने विभिन्न कम्पनीले माटरबाोटहरु संचालनमा छ ।

ऐन बनेपछि पानी जहाज कार्यालयमै दर्ता हुनु पर्ने

पानी जहाज कार्यालयका अनुसार हाल सो क्षेत्रमा बिभिन्न कम्पनीहरुले पर्यटन प्रर्वद्धन गर्ने भन्दै साना पानीजहाज संचालन गरेपनि कार्यालयको ऐन संसदबाट स्वीकृत भएर आएपछि पानीजहाज कार्यालयमा दर्ता हुनु पर्नेछ ।

नेपाल पानीजहाज कार्यालयका प्रवक्ता तथा शाखा अधिकृत बिप्लब विष्टले भने, ‘ति कम्पनीहरु विभागमा दर्ता भए पनि कार्यालयको ऐन लालमोहोर लगाएर आएपछि भने कार्यालयमै आएर दर्ता हुनु पर्छ ।’

कार्यालयले समुन्द्रमा नेपाली झण्डासहितको जहाज संचालन गर्नेसम्बन्धी ऐन निर्माणलाई अन्तिम रुप दिई भौतिक पूर्वधार यातायात मन्त्रालयलाई बुझाईसकेको छ । मन्त्रालयले उक्त मस्यौदा संसदमा पेश गरी स्वीकृत भए पछि मात्रै नेपालमा जहाजहरुको दर्ता प्रकृया सुरु हुने छ ।

हाल सम्म प्रभु ग्रुपलगायतले समुन्द्रमा पानीजहाज संचालन गर्न ईच्छा देखाएका छन् । कार्यालयका प्रवक्ता तथा शाखा अधिकृत बिष्टका अनुसार जहाज संचालनको लागि जो जसले इच्छा प्रकट गरेपनि संसदबाट स्वीकृत भई ऐन आईसके पछि मात्रै दर्ता प्रकृया सुरु गर्ने कार्यालयको तयारी छ ।

कार्यालयले हाल विस २०२७ सालको ऐन भएकाले कुनै पनि जहाज दर्ता नगरेको स्पष्ट पारेको छ उक्त ऐनअनुसार नेपालको नाम भएको कुनै पनि जहाज समुन्द्रमा संचालन गर्न सकिँदैन । तर नयाँ ल्याउन लागिएको ऐनले भने नेपालमा दर्ता भएको जहाजलाई पनि समुन्द्रमा संचालनका लागि बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL