Logo

काठमाडौं उपत्यकाका १२ ठाउँमा सडक बत्ती सुचारु, दोश्रो चरणमा हुँदैछ यी स्थानमा बिस्तार

काठमाडौं उपत्यकाका १२ ठाउँमा सडक बत्ती सुचारु, दोश्रो चरणमा हुँदैछ यी स्थानमा बिस्तार



काठमाडौं । काठमाडौं उपत्याकाका विभिन्न स्थानमा सडक बत्ती सुचारु भएको छ । उपत्यकामा केही चोकमा मात्रै सडक बत्ती भएको र भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरु गरेको थियो ।

अहिले कतिपय स्थानमा जडान भइसकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । चोक तथा जेब्राक्रसिङमा अहिलेसम्म १२ स्थानमा बत्ती जडान भइसकेको छ । तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सिंहदरबार, बागबजार, पद्मोदयमोड र ललितपुरको महापाल चोकमा बत्ती जडान भएर प्रयोगमा आइसकेको छ ।

भक्तपुरको ठिमी र सूर्यविनायक चोकमा जडान भइसकेको छ । भक्तपुरका तीन स्थान, ललितपुर र काठमाडौँका आवश्यक स्थानमा बत्ती विस्तार गरिने थपलियाले जानकारी दिए । दोस्रो चरणमा भक्तपुरको गठ्ठाघर, कौशलटार र सल्लाघारीमा बत्ती जडान हुनेछ । काठमाडौँको नयाँ सडक, पुतलीसडक, सोल्टीमोड, शिक्षण अस्पताललगायतका स्थानमा जडानको तयारी भएको छ । दुई दशक पहिले जडान भएर पनि सञ्चालनमा नआएको थापाथली, माइतीघर, कोटेश्वलगायतका स्थानमा मर्मतको तयारी शुरु गरिएको छ ।

कुनै एउटा बत्ती बल्दा बढीमा ९९ सेकेण्ड र घटीमा १६ सेकेण्डसम्म बल्नेछ । कुन समयमा कतातर्फ जाने सवारीसाधनको चाप बढी हुन्छ भन्ने आधारमा बत्तीको समय निर्धारण गरिएको छ । तीनतीन घण्टाको अवधिमा बत्तीको समयावधि परिवर्तन हुनेछ । बिहान नौ देखि १२, १२ देखि तीन र तीनदेखि साँझ ६ बजेसम्म फरक फरक अवधि राखिएको छ ।

बिहानमा सिंहदरबारलगायतका भित्री भागमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र अपराह्नपछि भित्री भागबाट बाहिरिनेको सङ्ख्या बढी हुन्छ । उनले भने, ‘नयाँ बानेश्वर चोकमा बिहानमा बबरमहलतर्फ आउने सवारीसाधन बढी हुन्छ भने अपराह्नपछि बानेश्वरबाट तीनकुनेतर्फ जाने बढी हुन्छ ।’

सडक बत्तीले सडक प्रयोगकर्तालाई सहज बनाएको भए पनि उनीहरुको व्यवहारमा परिवर्तन आउन बाँकी रहेको थपलियाले बताए । पहिले चोकका बीचमा बसेर हातले इसारा गर्ने ट्राफिक प्रहरी हिजोआज जेब्राक्रसिङमा बसेर यात्रुलाई बत्तीको बारेमा बुझाइरहेको देख्न सकिन्छ ।

उपत्यकामा विसं २०२७÷२८ तिर दरबारमार्गमा पहिलो ट्राफिक बत्ती शुरु भएको बताइन्छ । त्यसपछि विसं २०५८ मा जापान सरकारको सहयोगमा विभिन्न चोकमा जडान भएका थिए । तीमध्ये कुनै पनि अहिले काम गर्ने हालतका छैनन् । ललितपुर महानगरपालिकाले गत वर्ष पुल्चोक चोकमा नागरिक–निजी साझेदारी (पिपिपी) मोडलबाट उक्त कार्यक्रम शुरु गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL