Logo

बाग्मती सफाइ महाअभियानको ७ बर्ष, १२ हजार टन भन्दा बढी फोहर संकलन

बाग्मती सफाइ महाअभियानको ७ बर्ष, १२ हजार टन भन्दा बढी फोहर संकलन



काठमाडौं । बाग्मती सफाइ महाअभियानले ७ बर्ष पुरा गरेको छ । २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट सुरु गरिएको राष्ट्रिय अभियान हरेक शनिबार विहान संचालन गरिंदै आएको छ । ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको र करीव १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा काम गरिरहेको छ ।

नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक÷धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्रप्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकमलगायतको सहभागिता रहँदै आएको छ ।

बाग्मती नदी सफाइबाट सुरु गरिएको यो अभियान अहिले बाग्मतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा समेत विस्तार भएको छ । त्यस्तै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ ।

बाग्मती सफाई महाअभियान संचालन हुनथाले पछि बाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफाभएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ भने वालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ ।

नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरुको पहलमा वृक्षरोपण गर्ने, विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेका छन् । लुकिछिपी बाहेक संगठित रुपमा बाग्मती र सहायक नदीहरुमा फोहर फाल्ने काम रोकिएको अवस्था छ ।

नदी किनार सफाइ अभियानसँगै टोलटोलमा पनि सफाइ कार्य सुरु गरिएका छन् जसले गर्दा शहर सफा राख्नका लागि जनचेतना अभिवृद्धि भएको छ । बाग्मती सफाइ महाअभियानले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुरु गरेका पूर्वाधार निर्माण तथा सार्वजनिक जग्गा संरक्षणका कार्यहरुमा सहयोगीको भूमिका निर्वाह गरेको छ । बाग्मती र शाखा नदीहरुलाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि गर्नु पर्ने काम अझ धेरै बाँकी रहेको अभियान्तहरुले बताएका छन ।

नदीका दुवै किनारमा ढलनिकासको व्यवस्था गर्ने, ढल प्रशोधन केन्द्र निर्माण गर्ने, बाग्मती नदीको मुहान क्षेत्रमा बाँध निर्माण गरी वर्षात्को पानी जम्मा गरी सुख्खा याममा बगाउने, मेलम्ची खानेपानी आयोजनाबाट मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याई घरघरमा वितरण भइसके पछि प्रयोग भएर निस्कने फोहर पानीलाई ढल प्रणाली मार्फत प्रशोधन गरी पुनः बाग्मती नदीमा छोडने आदि कामकालागि हाल पूर्वाधार निर्माणका काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्