Logo

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने, आर्थिक रकम संकलन गर्न ‘धम्म देशना’

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने, आर्थिक रकम संकलन गर्न ‘धम्म देशना’



काठमाडौं । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सहित प्रस्तावना लिएर मन्त्रालयसमक्ष सहयोगको आग्रह गर्दै भने, ‘सहयोग सङ्कलन गरेर निर्माण सम्पन्न गर्न समय लाग्न सक्छ, त्यसैले प्रस्तावना ल्याएर आउनुस, समपूरक र विशेष अनुदानमार्फत आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउँदछ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सचेतक सीता नेपालीले वीरेन्द्रनगरको मुटु बुद्धपथमै बुद्ध सरोवर निर्माण गरिनु गौरवको विषय भएको बताए । धम्म देशना शुभारम्भमा धर्मगुरु प्रेमदोर्जे लामाले जिल्ला प्रहरी कार्यालयमा बुद्धमूर्तिलाई सम्मानजनक रुपमा राख्न आग्रह गरेका छन । माघ ९ गतेसम्म सञ्चालन हुने ‘धम्म देशना’बाट करिब ५० लाख रुपैयाँ रकम सङ्कलन हुने अपेक्षा गरिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बुद्ध सरोवर निर्माणमा न्यूनतम ९ करोडदेखि अधिकतम १२ करोड रुपैयाँ लागतको अनुमान गरिएको व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाया खाम्पाले बताए ।

८ कट्ठा क्षेत्रफलमा रहेको प्रस्तावित बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा पनि निर्माण गरिनेछ । धम्म देशनाको शुभारम्भ समारोहमा करिब १ लाख रुपैयाँ बराबरको दान सङ्कलन भइसकेको छ । आयोजकका अनुसार कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले १० हजार १ सय रुपैयाँ, गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर गुरुङले ५१ हजार, स्थानीय झकबहादुर सिजापति मगरले ३१ हजार १०१ रुपैयाँ सहयोग गरेका छन/रासस

प्रतिक्रिया दिनुहोस्