Logo

नुवाकोट र धादिङमा ६५ हल गोरुको ‘वान भर्सेज वान’ भिडन्त, कसले मार्ला बाजी ?

नुवाकोट र धादिङमा ६५ हल गोरुको ‘वान भर्सेज वान’ भिडन्त, कसले मार्ला बाजी ?



काठमाडौं । माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा ३, तादी गाउँपालिका–४ सातबिसेमा १०, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा ५ हल गोरु आज जुधाउन लागिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा ७ हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जानकारी दिएको छ । तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ । संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार गोरु जुधाइको सबै तयारी पुरा भएको छ । चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको हो । गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यसपटक नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालगायतको सहभागी हुने कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर संक्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

विसं २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाउन लागिएको हो । यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा ११ हल गोरु जुधाउन लागिएको छ । आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलका अनुसार वेत्रावतीमा जुधाइने गोरु जात्राको मेला अवलोकन गर्न प्रतिनिधिसभाको उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुने कार्यक्रम छ ।

नेपाल र भोटबीच भएको युद्धअन्तरगत विंस १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धि पश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयको पहलमा जोरु जुधाइलाई निरन्तरता दिएको गोसाइकुण्डका क्लबका सल्लाहकार अष्टमान डङ्गोलले बताए । उनका अनुसार विसं २०६७ देखि गोसाइकुण्ड युवा क्लबको पहलमा गोरु जुधाइ जात्रालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।

नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुशरण गदैै जिल्लाको अन्य स्थानमा पनि गोरु जुधाइ प्रतिस्पर्धा पछिल्लो समयमा मौलाउँदै गएको छ । लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछापमा नेपाल मगर संघको आयोजनमा तीन हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा समावेश गरिने जात्रा व्यवस्थापन समितिका संयोजक एंव गाउँपालिकाको उपाध्यक्ष रोजिना राईले जानकारी दिएकी छिन । गोरु जुधाइसहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा मगर समुदायको प्रचलित घाटु नाँचलगायत प्रदर्शनी सञ्चालन गर्न लागिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडामा मकर संक्रान्ति पर्वको अवसरमा नवप्रतिभा युवा क्लबको आयोजनामा ८ हल गोरु जुधाउन लागिएको अध्यक्ष शिवहरी विष्टले जानकारी दिएका छन । यस्तै, शिवपुरी गाउँपालिका–५ गैरीफाँटमा यस वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइ मेला चलाउन लागिएको आयोजक शेराबगर विकास समाजले जानकारी दिएको छ । यसैगरी, तादी गाउँपालिका–४ सातविसेमा १० हल गोरु जुधाउन लागिएको छ । ‘माघे संक्रान्ति गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिका अध्यक्ष हरिबहादुर तामाङको अनुसार जुधाउनको लागी १० हल गोरु दर्ता भएका छन् ।

यस्तै, नुवाकोटको तारुकासँगै जोडिएको धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा यस वर्ष सात हल गोरु जुधाउन दर्ता भएका छन् । पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को लामाचउरलगायत स्थानमा किसानले आफूले पालेको गोरु जुधाइ प्रदर्शनी गरेर मनोरञ्जन लिने परम्परलाई यो वर्ष पनि निरन्तरता दिन लागिरहेका छन् । ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा गरेर आयोजकले किसानलाई प्रतिस्पर्धामा ल्याउन उत्साहित बनाउँदै आएको छ । पछिल्लो समयमा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या वृद्धि हँुदै गएकाले यसलाई मनोरञ्जनको लागि मात्र नभई पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृतिको रुपमा प्रचारमा जोड दिनुपर्ने जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ बताउछन ।

वर्षभरी खेती गर्न गोरु पाल्न छाडेका किसानले मकर संक्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरुलाई जुधाउन सहभागी गराउँदै आएका किसानको लागि राज्यले अनुदान तथा सहयोगको विशेष कार्यक्रम चलाउनुपर्ने उनको सुझाव छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL