Logo

प्रदेश ३ को नाम र राजधानी तोकियो : नाम ‘बागमती’, राजधानी ‘हेटौडा’

प्रदेश ३ को नाम र राजधानी तोकियो : नाम ‘बागमती’, राजधानी ‘हेटौडा’



हेटौंडा । लामो समयको रस्साकस्सी पछि प्रदेश ३ को नाम र राजधानी तय भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेसँगै प्रदेशको नाम बागमती कायम भएको छ ।

नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको थियो

प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे ।

यस्तै आजै बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौँडालाई गरेको प्रस्ताव दुईतिहाइ भन्दा पनि बढी मतबाट स्वीकृत भएको थियो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए।

सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गर्यो। सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख श्रेष्ठले जनाए।

प्रतिक्रिया दिनुहोस्