Logo

आयातमा कडाईले राजस्व संकलन कमजोर, चालू आवको लक्ष्य नभेटिने

आयातमा कडाईले राजस्व संकलन कमजोर, चालू आवको लक्ष्य नभेटिने



काठमाडौं । चालू आर्थिक बर्षमा राजश्व संकलन निकै कमजोर देखिएको छ । बजेटको अर्धवार्षिक समीक्षा अवधि आइपुग्नै लाग्दा राजश्व भने संकलन कमजोर देखिएको हो ।

गत आर्थिक बर्ष लक्ष्य अनुरुप उठेको राजस्व चालू आवमा भने लक्ष्य अनुरुप नउठ्ने देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक बर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको छ ।

तर, पछिल्लो ६ महिनामा ३ खर्ब ६६ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ । राजस्वमा ठूलो योगदान दिने आयातित बस्तुमा सरकारले कडाई गर्दा राजस्व संकलनमा कमी आएको जानकारहरु बताउँछन् । गत आवमा करिव शतप्रतिशत उठेको राजश्व यो बर्ष भने लक्ष्यको नजिक पनि पुग्न गाह्रो हुने देखिएको छ ।

चालू आवमा हालसम्म ३३ प्रतिशत मात्रै राजस्व उठेको छ । सरकारले यो आवमा करमार्फत १० खर्ब ९ अर्व र गैरकरमार्फत १ खर्ब २ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । तर, हालसम्म करमार्फत ३ खर्ब ४२ अर्ब र गैरकरमार्फत २३ अर्ब ३४ करोड रुपैयाँ कर उठेको छ ।

सरकारले आयकरमार्फत पछिल्लो ५ महिनामा १ खर्ब ५० अर्ब ८१ करोड रुपैयाँ उठाएको छ । गत बर्षको सोही अवधिमा सरकारले आयकरवापतको १ खर्ब ५६ अर्ब आयकर उठाएको थियो ।

चालू आर्थिक बर्षमा १६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा जम्मा ३ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । पछिल्लो ५ महिनामा पूँजीगत खर्च १२ प्रतिशत हुँदा वित्तीय खर्च भने ९ प्रतिशत भएको छ । यस्तै ९ खर्ब ५७ अर्बको लक्ष्य लिईएको चालु खर्च पनि लक्ष्यको ३१ प्रतिशत मात्रै भएको छ ।

प्रतिक्रिया दिनुहोस्