काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर बनाउने उद्देश्यले बिभिन्न ५ क्षेत्रका प्रचार सामग्री हटाउने कार्यलाई तिब्रता दिएको छ । महानगरले बिशेषगरी विशिष्ट व्यक्ति आहोरदोहोर हुने ५ क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको हो ।
अहिले वानेश्वर, अन्तररराष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम महानगरले गरिरहेको छ । कामपाले मंगलबार मात्रै साना–ठूला गरी १९२ अनाधिकृतरूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ । कामपाले अहिले मुख्य गरेर विशिष्ट व्यक्तिहरुको ओहोरदोहोर हुने क्षेत्रलाई केन्द्रित गरेर काम अघि बढाएको हो ।
कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न संघ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले सोही स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताए । यसरी जहाँतहीँ प्रचार सामग्री राख्नेबाट कामपाले अहिलेसम्ममा २ लाख रुपैयाँ जरिवाना समेत असुल गरिसकेको छ ।
त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनाधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सोरूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी कूल १०३ बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले बताए ।
सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया सुरु गरेको सापकोटाको भनाइ छ । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका ८ ठूला होर्डिङबोर्ड हटाइसकेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन । प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिएको हो/रासस