Logo

चिसो बढेपछि यात्रु सडक छाडेर हवाई यात्रामा, बढ्यो हवाई यात्रुको चाप

चिसो बढेपछि यात्रु सडक छाडेर हवाई यात्रामा, बढ्यो हवाई यात्रुको चाप



काठमाडौं । नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगञ्ज विमानस्थलमा चाप बढेको हो । दशैँ, तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० उडान भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ ।

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको सङ्ख्या एक हजार २०० देखि एक हजार ५०० सम्म पुग्छ । यो सङ्ख्या विगत वर्षभन्दा बढी हो । चिसोका कारण सडक यातायातभन्दा हवाईजहाज रोज्ने बढेका छन् । चिसोमा कष्ट र झन्झट हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए ।

‘अहिले रु तीन हजारदेखि रु चार हजारसम्म टिकट पाइरहेको छ’, विमानस्थल प्रमुख ठाकुरले भने, ‘आयस्रोत बढेका कारण छिटो र सहजरूपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।’ नेपालगञ्ज विमानस्थलमा दशैँ, तिहार र मानसरोवरको याममा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ । नेपालगञ्ज–काठमाडौँ आवातजावत गर्ने यात्रु धेरै छन् ।

पहाडी जिल्लामा जानेभन्दा बेँसी झर्नेको सङ्ख्या बढी छ । नेपालगञ्ज होली डेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताए । ‘नेपालगञ्ज–काठमाडौँको भाडादर रु १० हजार हुँदा पनि नागरिक जहाज चढ्थे । अहिले त्योभन्दा धेरै कम छ’, सिग्देलले भने ।

सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताउँछन्। भ्रमण वर्ष शुरु भए पनि घुम्नका लागि पश्चिम आउने पर्यटकको सङ्ख्या भने कमै छ । नेपालगञ्ज विमानस्थल आन्तरिक यात्रुले नै धानेको छ । यो विमानस्थल आन्तरिक उडानतर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ ।

पहिलेका वर्षहरुमा चिसोको समयमा पटक–पटक हवाई उडान अवरुद्ध हुने गरेकामा यसपटक दुई दिनमात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताए। सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगञ्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिम क्षेत्रको केन्द्रमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको हो । वर्षेनी यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा भने नागरिकले अपेक्षाअनुसार सेवा पाउन नसकेको यात्रुहरुको गुनासो छ । सडक यात्रामा धेरै चापमा परिने र दुःख पाइने भएका कारण पनि हवाई यात्राप्रति आकर्षण बढेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL