Logo

बेलुकाबाट मौसममा क्रमिक सुधार हुँदै जाने, पश्चिमी न्यून चापीय वायु उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने

बेलुकाबाट मौसममा क्रमिक सुधार हुँदै जाने, पश्चिमी न्यून चापीय वायु उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने



काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ’, मौसमविद् मानन्धरले भनिन् । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ ।

राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमबार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र अधिकतम तापक्रम नौ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्