Logo

पानी जहाज संचालन सम्वन्धी ऐन निर्माण अन्तिम चरणमा, २० बर्ष पुराना जहाज दर्ता नहुने

पानी जहाज संचालन सम्वन्धी ऐन निर्माण अन्तिम चरणमा, २० बर्ष पुराना जहाज दर्ता नहुने



काठमाडौं । नेपाल पानी जहाज कार्यालयले समुन्द्रमा नेपाली झण्डा सहितको जहाज संचालन गर्ने ऐन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कार्यालयसँग भएको ऐन पुरानो भएको भन्दै नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

कार्यालयले सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा उक्त ऐनको मस्यौदा बुझाउने तयारी गरेको छ । मन्त्रालयमा बुझाईसके पछि मात्रै उक्त ऐन पारित गर्नका लागि संसदमा पेश गरिनेछ ।

हाल कार्यालयसँग भएको ऐन २०२७ सालको हो । उक्त ऐन अनुसार नेपालको नाम भएको कुनै पनि जहाज समुन्द्रमा संचालन गर्न सकिँदैन । तर नयाँ ल्याउन लागेको ऐनले भने नेपालमा दर्ता भएको जहाजलाई पनि समुन्द्रमा जान बाटो खुल्ने छ । नयाँ ऐनमा जहाज दर्ता, बिदेशी लगानीकर्ता कति राख्ने तथा वातवरण सम्बन्धीलगायतका कुराहरु समेटिएको कार्यालय प्रमुख बिपिन राजभण्डारीले जानकारी दिएका छन ।

उनका अनुसार नयाँ ऐन लागु भएपश्चात २० बर्ष पूरानो जहाज समेत नेपालमा दर्ता गर्न पाईने छैन । उक्त ऐनको सम्पूर्ण मस्यौदा तयार भईसकेकाले संसदबाट पास गराएर राजपत्रमा प्रकाशित गरेपछि मात्रै लागु गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

ऐन निर्माणसँगै नेपाली ध्वजाबाहक पानीजहाज विश्वको जुनसुकै समुन्द्रमा संचालन गर्न सकिनेछ । केही समय अघि भएको नेपाल–भारत पारवहन बैंठक सम्पन्न भएसँगै नेपाललाई समुन्द्रमा आफ्नै पानीजहाज सञ्चालनका लागि बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्