Logo

राजस्व छलीमा विभागको ‘एग्रेशिभ मुभ’, डेढ बर्षमै १४ अर्बको मुद्दा दायर

राजस्व छलीमा विभागको ‘एग्रेशिभ मुभ’, डेढ बर्षमै १४ अर्बको मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो डेढ बर्षको अवधिमा राजस्व चुहावटका कसुरमा १४ अर्बभन्दा बढी विगो दावीसहित मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कार्यालय मातहत आएयता विभागले विभिन्न कसुरमा ५ सय भन्दा बढी व्यक्ति उपर उक्त मुद्दा चलाएको जानकारी दिएको हो ।

पछिल्लो डेढ बर्षमा राजस्व चुहावटको कसुरमा १४ अर्बभन्दा बढीको विगो र ५ सय जना प्रतिवादी बनाएर मुद्धा दर्ता गराईएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उक्त कसुरमा मुद्दा चलाईएका प्रतिवादीलाई विगो र विगोको दोव्वरसम्मको जरिवाना र ३ बर्षसम्म कैद दावी गरिएको छ ।


त्यसमा पनि राजस्व प्रशासनमा काम गर्ने ८ जना कर्मचारीलाई पनि मुद्दा चलाईएको महानिर्देशक मैनालीले बिजखबरलाई जानकारी दिए । उनका अनुसार भन्सार एजेन्टका प्रतिनिधि, लेखापरीक्षक, कर सहयोगी लगायतका कर्मचारीलाई समेत विभागले यसको मुद्धामा प्रतिवादी बनाएको उनको भनाई छ ।

पछिल्लो डेढ बर्षमा विदेशी विनिमय अपचलनमा पनि करिव ५ अर्ब जतिको विगो कायम गरेर ३ सय जना ब्यक्तिउपर मुद्धा दायर गरिएको छ । विभागले जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाई केन्द्र बनाएर अघि बढेको महानिर्देशक मैनालीको भनाई छ ।

विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै विगो दाबी गरिएको मुद्दा भने चिसो पेयपदार्थ पेप्सी उत्पादक बरुण वेभरेज विरुद्धको हो । नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० विल प्रकरणमा विभागले बरुण वेभरेजविरुद्ध कुल १ अर्ब ९४ करोड रुपैयाँ विगो दावी सहित वेभरेजका संचालक अमित गुप्तासहित ७ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । वरुण वेभरेजले राजस्व चुहावट गर्ने नियतले झुटा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिसँगको मिलेमत्तोमा वास्तविक मालसामान खरिद नै नगरी नक्कली विल विजक जारी गर्ने उद्देश्यले दर्ता गरिएका फर्म तथा कम्पनीबाट विलविजक खरिद गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको विभागले दायर गरेको मुद्दामा छ ।

राजस्व चुहावट ऐन २०५२ अनुसार वरुण वेभरेजले कसुर गरेको ठहरिन आएकाले विभागले विगो सहित ३ बर्षको कैद सजायको माग दावी सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले कम्पनीका संचालक तथा पूर्व संचालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहरी, प्रविण कुमार अग्रवाल, विनोद कुमार सिंह र अशोक कुमारबाट असुल गर्नेगरी प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीहरुलाई ६४ करोड ९६ लाख विगो र १ अर्ब २९ करोड ९२ लाख विगोको दोब्बर गरी कुल १ अर्ब ९४ करोड रुपैयाँको बिगोदावी सहित मुद्दा दायर गरेको हो । जसमध्ये विभागले गरेको अनुसन्धानबाट नक्कली भ्याट विल कारोबारतर्फ २५ करोड ३४ लाख, आयकरतर्फ ३९ करोड ६१ लाख ठगी गरेको भेटिएको हो ।

यस्तै विभागले दायर गरेको अर्को ठूलो मुद्धामा हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य कारोबारी विनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा रहेको छ । विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सो मुद्दामा ४ जना सरकारी कर्मचारी समेत रहेका छन् । भन्सार अधिकृतद्वय बटुकृष्ण अधिकारी, र सुभाषप्रसाद श्रेष्ठ तथा नायव सुब्बाहरु देवीबहादुर थापा र बसन्तकुमार सुवेदी पनि सो मुद्दामा मुछिएका छन् । यसैगरि, भन्सार ऐजेन्ट दिनेशकुमार वाँनिया विरुद्ध पनि मुद्दा चलाइएको छ । उनीहरुको मिलेमतोमा हिमालयन कार्गो मार्फत नेपालगंजबाट भन्सार चोरी पैठारी गरी भन्सार महशुल, भ्याट तथा आयकर राजस्व छलि गरेको देखिएक विभागको ठहर छ ।

रोहित अग्रवाल सञ्चालक रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाईटर रहेको एनआईसिआई ट्रेडर्स, बृजलाल रावत प्रोपाईटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाईटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल संचालक रहेको श्याम ट्रेडिङ्ग, इश्वर दयाल हजार दुशाध प्रोपाईटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्महरु दर्ता गराएर कारोवार हिमालयन कार्गो मार्फत गरी राजस्व चुहावट गरेको भेटिएको विभागले जनाएको छ ।

यी फर्महरुले भन्सार महशुल तर्फको विगो १४ करोड ९९ लाख ८० हजार र आयकर तर्फको विगो ९ करोड ९ लाख ८६ हजार गरी जम्मा राजस्व चुहावटको विगो ४५ करोड ६४ लाख ३ हजार ३ सय ५७ रुपैया कायम गरि १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । उनीहरुले मालबस्तु आयात गर्ने प्रयोजन भन्दै रकम विदेश पठाई सो वापत सामान आयात नगरी २ करोड २४ लाख ९९ हजार बराबर विदेशी मुद्रा नेपाल बाहिर पुर्याएका थिए । यसकै आधारमा बिदेशी विनिमय नियमित गर्ने ऐन, अनुसार विगो असुलउपर गरी कैद सजाय समेत माग गरेर मुद्दा दायर गरिएको छ ।

यस्तै विभागले ग्रीन टोबागो कम्पनी प्रालिका सन्चालक प्रभुराम श्रेष्ठसमेत सफिन एन्ड ब्रदर्स आरएस स्टोर, अभिनव सुर्ती उद्योग, गोल्डन टोबागो इन्डस्ट्रिज र सहयोग सुर्ती उद्योगका प्रोपाइटर दिनेश बसुकला तथा ओमसाई सुर्ती उद्योगकी प्रोपाइटर जानुका कार्कीले प्रचलित कानुनबमोजिम अन्तःशुल्क स्टिकर नलगाइ सुर्तीजन्य वस्तु निष्कासन गरी बिक्री गरेको तथा कर छली गरेको भन्दै मुद्दा दायर गरेको छ । विभागले उनीहरुले राजस्व छली गरेको १० करोड १५ लाख बढी राजस्व चुहावट गरेको भन्दै बिगो दाबीसहित दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेकोे छ ।

विभागले गत असारमा विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको भन्दै मुद्दा दायर गरेको थियो । सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरु विरुद्ध रु दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारका नाममा आठ वटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानमा खुलेको थियो ।


विभागले हाल राजश्व चुहावट र छलीविरुद्ध अनुसन्धान र छानविन तीब्र बनाएको महानिर्देशक मैनालीले बताए । ‘अहिले विभागले राजश्व चुहावट र छलीविरुद्ध एग्रेशिभ मुभ चालेको छ ।’ मैनालीले विभागले अनुसन्धान र छानविन गरि अदालतमा मुद्दा दायर गर्ने काम तव्रि बनाएको बताए । ‘हाम्रो काम अनुसन्धान छानविन र मुद्दा दायर गर्ने हो । निर्णयको काम भने अदालतको हो’, मैनालीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL