Logo

गृहजिल्लाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

गृहजिल्लाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन ।
बागलुङ उद्योग वाणिज्य संघले बागलुङ महोत्सवको उद्घाटन समारोहमा उम्मेदवारी घोषणाको प्रस्ताव गरेपछि ढकालले सो प्रस्ताव स्वीकार गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षकोतर्फबाट सम्बोधन गर्ने क्रममा उनले भने, ‘साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

उक्त सम्बोधनका क्रममा उनले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए ।

त्यस सम्बोधनका क्रममा उनले भने, ‘मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हुँ, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु ।

उनले उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।’

उनले नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बागलुङको अमलाचौरमा विसं २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन । उनीले त्यसअघि महासंघको दुई कार्यकाल कार्यसमितिको सदस्य भएर काम गरिसकेका छन् ।

ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन ।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुन ।

समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन् भने नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्