काठमाडौं । पछिल्लो समय भेहिकल एण्ड कन्साईन्टमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा सरकारले कडाई गरेपछि आबद्ध हुने व्यवसायी बढेका छन् । गत साउन १ गते राजस्व अनुसन्धान विभागले सुरु गरेको उक्त प्रणालीमा आवद्ध हुने व्यवसायीको संख्या बुधबारसम्म ६५ हजार ३ सय ५ पुगेको विभागले जानकारी दिएको छ । विभागका अनुसार प्रणाली सुरु गर्दा ४ हजार २ सयमात्र रहेको यस प्रणालीका प्रयोगकर्ता पछिल्ला ५ महिनामा ६० हजारले वृद्धि भएका हुन् ।
विभागले साउन १ गतेदेखि सुरु गरेको प्रणालीमा जान व्यवसायीले केही आनाकानी गरिरहेका थिए । सोही अनुसार विभागले व्यवसायीलाई साउनदेखि असोजसम्म सहजीकरण गर्दै व्यवसायीलाई छुट दिने निर्णय गरेको थियो । तर, कार्तिकदेखि भने विभागले व्यवसायीलाई यो प्रणालीमा आबद्ध हुनैपर्ने गरि कडाई गरिरहेको र त्यसयता यो प्रणालीमा आवद्ध हुने क्रम पनि निकै बढेको हो ।
यो प्रणालीको सुरुवात गर्दा व्यवसायीमा केही अप्ठ्यारोपनको महशुस भएपनि विस्तारै व्यवसायीहरुको नै उक्त प्रणालीप्रति आकर्षण बढ्दै गएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनका अनुसार लामो समयको गहृकार्य र व्यवसायीकै सुझाव र सहमतिमा सुरुवात गरिएको उक्त प्रणालीबाट साउन यता मात्रै १३ लाख १६ हजार २ सय १५ ओटा ढुवानीको कारोबार ईन्ट्री भएका छन । ‘हामीले व्यवसायी र यसका सरोकारवालाहरुलाई सहज होस भनेर समयसमयमा प्रतिक्रियासमेत लिने गरेका छौं’, उनले भने,–‘ व्यवसायीहरुको प्रतिक्रिया अनुरुप प्रणालीलाई पनि संशोधन गर्ने काम गरिरहेका छौं । जसको कारण व्यवसायीलाई प्रणालीमा आवद्ध हुन प्रोत्साहन मिलेको छ ।’
विभागले व्यवसायीलाई पारदर्शी बनाउन र राजस्व ढुवानीमार्फत हुने राजस्व चुहावट कम गर्न राजस्व चुहावट ऐन २०५२ को दफा १३ अनुसार उक्त प्रणाली लागु गरेको हो । ऐनमा वेबमा आधारित अनलाईन ढुवानी साधन अनुगमन प्रणाली लागु गर्ने व्यवस्था छ । यस्तै चालु आर्थिक बर्षको बजेट बक्तब्यमा समेत चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई न्यूनीकण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र विक्रीसम्मको श्रृङ्खलालाई ट्रयाकिङ प्रणालीमा आवद्ध गरिने उल्लेख छ ।
सोही अनुसार विभागका अनुसार हाल उक्त प्रणालीमार्फत दैनिक १६ देखि १७ हजार कन्साईनमेन्ट प्रविष्ट हुने गरेको छ । साउनदेखि यता मात्रै १८ लाख कन्साईनमेन्ट उक्त प्रणालीमा प्रविष्ट भएका छन् । यस्तै अघिल्ला बर्षहरुमा बर्षभरी ५ देखि ६ लाख मात्रै ईन्ट्री हुने गरेकोमा प्रणालीको सुरुवात भईसकेपछि मात्रै ३७ लाख बढी ईन्ट्री भएका हुन ।
यो सेवा हाल डिलर, होलसेलर, कम्पनीलगायतले प्रणालीमा आवद्ध हुनका लागि जहाँबाट पनि व्यवस्था मिलाईएकाले यसमा विवरण प्रविष्ट गर्नसमेत सजिलो भएको छ । हाल विभिन्न भन्सार विन्दुुमा पनि १ सय ८३ जनाले यसको प्रविष्ट गर्ने कामहरु गरिरहेका छन । साउन महिना यता भन्सारहरुबाट मात्रै १ लाख ८५ हजार ३ सय ८५ प्रज्ञान पत्र प्रणालीमा प्रविष्ट भएका छन् ।