Logo

प्रधानमन्त्रीको सडक खाल्डाखुल्टी टाल्ने निर्देशनसँगै अलकत्रा आयात बढ्यो, ४ महिनामा २ अर्बको भित्रियो

प्रधानमन्त्रीको सडक खाल्डाखुल्टी टाल्ने निर्देशनसँगै अलकत्रा आयात बढ्यो, ४ महिनामा २ अर्बको भित्रियो



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको पहिलो ४ महिनामा २ अर्ब रुपैयाँ बराबरको अलकत्रा भित्र्याएको छ । भन्सार बिभागको तथ्याङ्क अनुसार चालु आवको ४ महिनामा २ अर्ब रुपैयाँ बराबरको (बिटुमीन) अर्थात अलकत्रा आयात गरेको हो ।

सडक कालोपत्रे गर्न प्रयोग हुने अलकत्रा दुबई, इन्डोनेशिया, मलेशिया, सिंगापुर तथा भारतबाट आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । ति देशहरुबाट सरकारले ४ महिनामा मात्रै २ अर्ब रुपैयाँ बराबरको ५ करोड ७० लाख ८८ हजार २ सय ४ किलोग्राम (बिटुमीन) अर्थात अलकत्रा आयात गरेको हो ।

सरकारले ४ महिनाको अवधिमा २ अर्ब रुपैयाँ बराबरको अलकत्रा भित्र्याए पनि राजधानीकै सडकको अवस्था भने नाजुक रहेको छ । तर सरकारले पछिल्लो समयमा भने राजधानी केन्द्रित सडकहरुको मर्मत सम्भारमा केही सुधार गरेको बताए पनि अझै काठमाडौंको बिभिन्न सडकका खाडल भने उस्तै देख्न सकिन्छ ।

सडक बिभागका प्रवक्ता अर्जुन सिलवालले भने नेपालमा जति अलकत्रा भित्रिएको छ ति सबै सडक बिभागले मात्रै प्रयोगमा नगरेको बताए । उनका अनुसार नेपाल भित्रिएको अलकत्रा शहरी विकास, हाईड्रोपावर, सडक बिभागलगायत ७ ओटा निकायले प्रयोग गर्ने भएकाले कसले कति प्रयोगमा ल्यायो भनेर भन्न नसकिने बताउँछन । तर ति मध्ये सबै भन्दा बढी प्रयोग गर्ने भनेको सडक बिभागनै हो । यि ठूला निकाय बाहेकका अन्य क्षेत्रमा समेत बिटुमीनको प्रयोग हुने सिलवालको भनाई रहेको छ ।

चालु आवको पहिलो ४ महिनामा पौने ६ करोड किलोग्राम अलकत्रा भित्र्याएको नेपालले गत बर्षको सोही अवधिमा भने १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड २४ लाख ६२ हजार ९ सय ४२ किलोग्राम मात्रै अलकत्रा भित्र्याएको थियो । सरकारले आव २०७४÷७५ को सोही अवधिमा ५८ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड २९ लाख ५५ हजार ४ सय ५६ किलोग्राम अलकत्रा भित्र्याएको थियो ।

त्यस्तै पेट्रोलियम तेलको तेल वा बिटुमीन खनिजबाट प्राप्त गरिएको तेलको अन्य अवशेषहरू भने चालु आवको ४ महिनामा २ करोड ९५ लाख ९९ हजार रुपैयाँ बराबरको ४ लाख ३८ हजार ४ सय ३० किलोग्राम भित्र्याएको छ । गत बर्षको सोही अवधिमा भने बिटुमीन खनिजबाट प्राप्त गरिएको तेलको अन्य अवशेषहरू ८५ लाख ६९ हजार रुपैयाँ बराबरको १ लाख २१ हजार ३० किलोग्राम मात्रै आयात भएको थियो ।

सरकराले गत बर्ष अलकत्रामात्रै ६ अर्ब ३७ करोड ६७ लाख ६९ हजार रुपैयाँ बराबरको ११ करोड ८८ लाख ६५ हजार १ सय ७५ किलोग्राम अलकत्रा आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्